NIMB Header 2
Nepal Life

नेपाल लाइफ इन्स्योरेन्सको लगानी, आम्दानी र सोल्भेन्सी सूचक सुदृढ : अध्यक्ष संघाई

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 03 15:20
नेपाल लाइफ इन्स्योरेन्सको लगानी, आम्दानी र सोल्भेन्सी सूचक सुदृढ : अध्यक्ष संघाई
National Life

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघाईले कम्पनीले लगानीको उच्चतम् सुरक्षा र उचित प्रतिफलको सिद्धान्तलाई अवलम्बन गर्दै निरन्तर प्रगति हासिल गरिरहेको बताएका छन्। कम्पनीको वार्षिक समीक्षा अवसरमा मन्तव्य दिँदै उनले आर्थिक वर्ष २०८०/८१ को तुलनामा कम्पनीका प्रमुख वित्तीय सूचकहरू उल्लेखनीय रूपमा सुधार भएको जानकारी गराएका हुन्।

Shikhar
NIMB

संघाईले कम्पनी उत्कृष्ट कार्यसम्पादन, स्पष्ट दिशानिर्देश र दीर्घकालीन व्यावसायिक रणनीतिका कारण वित्तीय सूचकांकहरूमा निरन्तर सुदृढ हुँदै नेपालको सर्वोत्कृष्ट तथा विश्वसनीय जीवन बीमा कम्पनीको रूपमा स्थापित हुँदै गएको बताएका छन्।

कम्पनीको २६औं वार्षिक साधारणसभामा मन्तव्य व्यक्त गर्दै अध्यक्ष संघाईले देशको शिथिल अर्थतन्त्र र विषम परिस्थितिका बाबजुद पनि आर्थिक वर्ष २०८१/८२ मा कम्पनीका वित्तीय तथा गैरवित्तीय सूचकांक सन्तोषजनक रहेको जानकारी गराए। उनका अनुसार ग्राहक सेवालाई मुख्य प्राथमिकतामा राख्दै नेपाल लाइफले देशभर शाखा, उप–शाखा, प्रदेश तथा प्रधान कार्यालय गरी जम्मा १९४ कार्यालयमार्फत बीमा सेवा प्रदान गर्दै आएको छ। हाल कम्पनीमा ५७७ नियमित कर्मचारी, करार तथा आउटसोर्समा ११८ जना जनशक्ति र ३१ हजार ७७३ सक्रिय अभिकर्ता कार्यरत छन्।

अध्यक्ष संघाईले कार्यालयहरूको स्तरोन्नति, कर्मचारी तथा अभिकर्ताहरूको नियमित तालिममार्फत सीप र दक्षता अभिवृद्धि, साथै समयानुकूल बजार रणनीतिलाई निरन्तरता दिइएको बताए।

उनका अनुसार नेपाल बीमा प्राधिकरणबाट स्वीकृत बीमाङ्कीय मूल्यांकनपछि आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको खूद मुनाफा २२९ करोड ४३ लाख रुपैयाँ पुगेको छ। सोही मुनाफाबाट हाल कायम चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। जसअनुसार ५ प्रतिशत बोनस शेयर र करसहित १६.०५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष संघाईले जानकारी दिए।

जीवन बीमा कम्पनीका लागि महत्वपूर्ण सूचक मानिने जीवन बीमा कोषमा पनि उल्लेखनीय वृद्धि भएको अध्यक्ष संघाईको भनाइ छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको जीवन बीमा कोष २३ हजार २७४ करोड ६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १९ हजार ५०७ करोड ४६ लाख रुपैयाँ थियो। यसरी एक वर्षको अवधिमा जीवन बीमा कोष १९.३१ प्रतिशतले वृद्धि भएको छ। साथै चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म जीवन बीमा कोष २४ हजार ५४९ करोड ९७ लाख रुपैयाँ पुगेको उनले बताए।

बीमाशुल्क संकलनतर्फ पनि नेपाल लाइफले ऐतिहासिक उपलब्धि हासिल गरेको अध्यक्ष संघाईले उल्लेख गरे। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले प्रथम बीमाशुल्क वापत १ हजार ९८ करोड १५ लाख रुपैयाँ संकलन गरेको छ, जुन अघिल्लो वर्षको ८०२ करोड १९ लाख रुपैयाँको तुलनामा ३६.८९ प्रतिशतले बढी हो।

त्यसैगरी, कूल बीमाशुल्क संकलन ४ हजार ८२० करोड २१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ४ हजार ८४ करोड ९४ लाख रुपैयाँ रहेको थियो। यसले कूल बीमाशुल्क संकलनमा १८ प्रतिशत वृद्धिदर देखाएको अध्यक्ष संघाईले बताए।

समीक्षा अवधिमा नेपालका जीवन बीमा कम्पनीहरूले संकलन गरेको कूल बीमाशुल्क १८ हजार २२७ करोड रुपैयाँ रहेको उल्लेख गर्दै अध्यक्ष संघाईले सोको २६.४४ प्रतिशत बजार हिस्सा नेपाल लाइफको रहेको जानकारी दिए। यससँगै कम्पनीले समग्र जीवन बीमा बजारमा आफ्नो अग्रस्थान कायमै राख्न सफल भएको उनले बताए।

अध्यक्ष संघाईका अनुसार आ.व. २०८०/८१ मा २०,६१८.७४ करोड रुपैयाँ रहेको कम्पनीको कूल लगानी समीक्षा अवधिमा १६.१२ प्रतिशतले वृद्धि भई २३,९४२.५९ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा कूल लगानीबाट २,०००.६१ करोड रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७.४७ प्रतिशतले बढी हो। आम्दानीमा वृद्धि हुनुका साथै खर्च नियन्त्रणमा समेत विशेष ध्यान दिइएको उनले बताए। कूल बीमाशुल्क आर्जनको अनुपातमा व्यवस्थापन खर्च ६.२५ प्रतिशतमा सीमित गरिएको छ, जुन अघिल्लो वर्ष ६.५० प्रतिशत रहेको थियो।

कम्पनीले बीमितहरूलाई प्रदान गर्ने सेवा प्रभावकारी बनाउँदै परिपक्वता लाभ, जीवित लाभ तथा मृत्यु दाबी भुक्तानी यथासक्य छिटो गरिरहेको अध्यक्ष संघाईले जानकारी दिए। समीक्षा अवधिमा मात्र कम्पनीले कूल १९,१९१.६८ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ।

सेवाको गुणस्तर अभिवृद्धि गर्न कम्पनीले अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डअनुसार आधुनिकीकरणलाई तीव्रता दिएको छ। अनलाइन सूचना प्रविधि, डिजिटल पेमेन्ट गेटवे, लर्निङ म्यानेजमेन्ट सिस्टम तथा अटोमेसन/डिजिटल ट्रान्सफर्मेसनको प्रभावकारी प्रयोगमार्फत ग्राहकलाई छिटो र सहज सेवा प्रदान गरिँदै आएको अध्यक्ष संघाईले बताए।

नेपाल बीमा प्राधिकरणबाट जारी Risk Based Capital Framework अनुसार कम्पनीको बीमाङ्कीय मूल्याङ्कन शतप्रतिशत सोही मापदण्डभित्र रही गरिएको उनले स्पष्ट पारे। न्यूनतम १३० प्रतिशत सोल्भेन्सी मार्जिन आवश्यक रहने व्यवस्था भए पनि आ.व. २०८१/८२ का लागि नेपाल लाइफ इन्स्योरेन्सको सोल्भेन्सी मार्जिन १५३.७० प्रतिशत कायम रहेको छ, जसले कम्पनीको वित्तीय अवस्था मजबुत रहेको देखाउँछ।

समीक्षा वर्षमा कम्पनीले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणालीको सुदृढीकरण तथा सम्भावित जोखिम न्यूनीकरणमा जोड दिएको अध्यक्ष संघाईले बताए। सञ्चालक समितिको वार्षिक कार्यसम्पादन मूल्याङ्कन सम्पन्न भई समितिको कार्यसम्पादन उत्कृष्ट रहेको निष्कर्ष निकालिएको उनले जानकारी दिए।

कम्पनीले पर्यावरण, सामाजिक सुशासन, डिजिटल रूपान्तरण, साइबर सुरक्षा, सरोकारवालासँगको संचार र कर्मचारी उत्तराधिकारी योजनालाई प्राथमिकतामा राख्दै दीर्घकालीन विकासमा योगदान पुर्‍याइरहेको पनि अध्यक्ष संघाईले उल्लेख गरे। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, बीमा सचेतना तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमहरूमा कम्पनीले सहयोग गर्दै आएको छ।

अन्त्यमा अध्यक्ष संघाईले नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, नियामक निकायहरू, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सबैको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया