विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
- BFIS News
- 2026 Jan 08 11:19
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) मा आवेदन दिने आज (पुस २४ गते) अन्तिम दिन रहेको छ।
लघुवित्तले संस्थापक र सर्वसाधारण शेयरधनीबीच ७०ः३० को शेयर स्वामित्व अनुपात कायम गर्न एफपीओ निष्काशन गरेको हो। साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जरपछि संस्थाको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो। मर्जरपश्चात संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व क्रमशः ७४.३९ प्रतिशत र २५.६१ प्रतिशत रहेकाले सो अनुपात समायोजनका लागि एफपीओ जारी गरिएको हो।
लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर निष्काशन गरेको छ, जसको कुल मूल्य ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबर रहेको छ।
एफपीओमा आवेदन दिँदा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
रेटिङ्ग एजेन्सी इक्रा नेपालले एफपीओ निष्काशनका लागि लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट’ प्रदान गरेको छ। यस रेटिङ्गले संस्थाले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा विकास गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)















प्रतिक्रिया