पाल्पा सिमेन्टको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
- BFIS News
- 2026 Jan 09 13:43
काठमाडौं। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज (पुस २५ गते) देखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। सोमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको हो।
उद्योग प्रभावित क्षेत्रअन्तर्गत पश्चिम नवलपसारी (साविक नवलपरासी जिल्ला) तथा खानी रहेको पाल्पा जिल्लाका स्थानीय बासिन्दाले उक्त शेयरमा आवेदन दिन सक्नेछन्।
यसैगरी, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गते निष्कासन बन्द हुनेछ।
आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको नेट प्रिजेन्ट भ्यालु १२ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ रहेको छ भने इन्टरनल रेट अफ रिटर्न १३.७८५ प्रतिशत रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ६ वर्ष ८ महिना र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ९ वर्ष १२ महिना रहेको कम्पनीले जनाएको छ।
कम्पनीको उद्योग क्षेत्रफल १० बिघा १३ कठ्ठा १२ धुर तथा खानीको खुला क्षेत्रफल १७२ रोपनी ११ आना ३ पैसा १ दाम रहेको छ। पाल्पा सिमेन्टले २०७६ वैशाखदेखि क्लिंकर र २०७७ वैशाखदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता १ हजार ८०० मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता २ हजार २०० मेट्रिक टन रहेको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकका तानसेन, बर्दघाट, बुलिबटार र गैँडाकोट शाखा, प्रभु बैंकका पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा तथा सिद्धार्थ बैंकका पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले दरखास्त फारामका लागि २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्वा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया