Nepal Life

शेयर धितो कर्जा १ खर्ब ४८ अर्ब नाघ्यो, ठूला लगानीकर्ताको वर्चस्व कायम

NMB Bank
  • BFIS News
  • 2026 Jan 09 16:01
शेयर धितो कर्जा १ खर्ब ४८ अर्ब नाघ्यो, ठूला लगानीकर्ताको वर्चस्व कायम
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै शेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) मा उल्लेख्य वृद्धि भएको जनाएको छ।

Shikhar
NIMB

प्रतिवेदनअनुसार, मंसीर मसान्तसम्म कुल शेयर धितो कर्जा १ खर्ब ४८ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

गत वर्ष साउनमा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ रहेको शेयर धितो कर्जा यस वर्ष मंसीरसम्ममा करिब ६४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। यसले नेपाली शेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी उच्च गतिमा बढिरहेको संकेत दिन्छ।

विशेषतः ठूला लगानीकर्ताको पकड अझै बलियो रहेको देखिन्छ। कुल कर्जाको करिब ७० प्रतिशत अर्थात् १ खर्ब ३ अर्ब ८७ करोड ४५ लाख रुपैयाँ १ करोड रुपैयाँभन्दा माथिको लगानीकर्तामा केन्द्रित छ। पछिल्लो पाँच महिनामा यस समूहमा ४ अर्ब ९४ करोड ६६ लाख रुपैयाँको कर्जा थपिएको छ। यसले बजारको उतार-चढावमा ठूला लगानीकर्ताले बैंकको कर्जा मुख्य हतियारको रूपमा प्रयोग गरिरहेको संकेत दिन्छ।

मध्यम वर्गीय र साना लगानीकर्ताको ऋण प्रवृत्ति पनि क्रमिक रूपमा बढ्दो छ। ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १७ अर्ब ९० करोड ३० लाख रुपैयाँ पुगेको छ, जुन पाँच महिनामा ११.७ प्रतिशतले वृद्धि भएको हो। २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १८ अर्ब २८ करोड १९ लाख रुपैयाँ रहेको छ। सबैभन्दा साना लगानीकर्ताको (२५ लाखभन्दा कमको कर्जा) मौज्दात ८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ पुगेको छ, जसमा ६.७ प्रतिशतको वृद्धि भएको छ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्र कुल ८ अर्ब ८ करोड ६० लाख रुपैयाँले शेयर धितो कर्जा बढेको छ। यो समग्रमा ५.७ प्रतिशतको वृद्धि हो। अघिल्लो वर्षको सोही अवधिमा कर्जा १९.८ प्रतिशत अर्थात् १७ अर्ब ८५ करोड २० लाख रुपैयाँले बढेको थियो। यद्यपि वृद्धिदर यस वर्ष केही सुस्त भए पनि कुल कर्जा ऐतिहासिक उच्चतम स्तरमा पुगेको छ।

विशेषज्ञका अनुसार, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा सीमा (क्याप) परिमार्जन गरेको र बैंकहरूमा पर्याप्त तरलता रहेको कारण लगानीकर्ताहरू कर्जातर्फ आकर्षित भएका हुन्। बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत तथा संस्थागत लगानीकर्तालाई लक्षित गर्दै ल्याएका विभिन्न अफरहरूले पनि कर्जाको माग बढाउन सहयोग पुर्‍याएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया