पूँजी बजार र विद्युत् क्षेत्रको समन्वयका लागि कार्यदल गठन तयारी
- BFIS News
- 2026 Jan 09 16:11
काठमाडौं। नेपालमा पूँजी बजार र जलविद्युत् उत्पादन क्षेत्रको सुदृढीकरण तथा लगानी प्रवर्द्धनका लागि नियामक निकायहरूबीच सहकार्य सुरु भएको छ।
नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबीच २०८२ पौष २४ गते खुमलटारस्थित बोर्डको कार्यालयमा विशेष संयुक्त बैठक सम्पन्न भएको छ।
बैठकको मुख्य उद्देश्य पूँजी बजारमार्फत जलविद्युत् परियोजनामा लगानी बढाउने, नियामक समन्वय मजबुत पार्ने र नीतिगत सामञ्जस्य कायम राख्नु रहेको थियो। बैठकले नेपालको जलविद्युत् क्षेत्र र शेयर बजारबीचको सम्बन्धलाई थप संस्थागत गर्ने प्रतिबद्धता जनाएको छ। दुवै निकायका प्रमुखहरूले दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, प्रभावकारी र लगानीमैत्री संयन्त्रको आवश्यकता रहेकोमा जोड दिएका थिए।
बैठकमा धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र विद्युत् नियमन आयोगका अध्यक्ष डा. राम प्रसाद धितालसहित दुवै निकायका उच्च अधिकारीहरू उपस्थित थिए। बैठकले पूँजी बजार र विद्युत् क्षेत्रबीचको सम्बन्धलाई प्रभावकारी बनाउन दुवै निकायका प्रतिनिधि मिलेर एक संयुक्त कार्यदल गठन गर्ने विषयमा गहन छलफल गरेको छ।
उक्त कार्यदलले लगानीसम्बन्धी नीतिगत विषय, नियामकीय समन्वय र विद्यमान नियम तथा कानुनमा आवश्यक परिमार्जनका लागि ठोस उपायहरू पहिचान गर्नेछ। बोर्डतर्फ कार्यकारी निर्देशकहरू विनयदेव आचार्य, मुक्तिनाथ श्रेष्ठ र रुपेश के.सी., आयोगतर्फ सदस्यहरू डा. मधुसूदन अधिकारी र भगिरथि भट्टराई ज्ञवाली लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
विशेषज्ञहरूका अनुसार, यस सहकार्यले जलविद्युत् कम्पनीका शेयरमा लगानी गर्ने सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्दै बजारको स्थायित्वमा ठुलो योगदान पुग्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया