सर्वाधिक एमडिआरटी उत्पादन गर्नेमा नेपाल लाइफ अग्रस्थानमा
- BFIS News
- 2026 Jan 22 22:10
काठमाडौं। नेपालका जीवन बीमा कम्पनीहरूले एमडिआरटी २०२६ का लागि उल्लेखनीय संख्यामा अभिकर्ता उत्पादन गरेका छन्। उपलब्ध तथ्यांकअनुसार नेपालभरबाट टिओटी, सिओटी र एमडिआरटी गरी करिब ६७० जना अभिकर्ता क्वालिफायर्ड भएका छन्। तीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक्लैले सर्वाधिक धेरै ११३ जनालाई एमडिआरटी बनाउन सफल हुँदै अग्रस्थान हासिल गरेको छ।
एमडिआरटी २०२६ का लागि नेपालभरबाट ७ जना टिओटी, २३ जना सिओटी र ठूलो संख्यामा एमडिआरटी अभिकर्ता क्वालिफायर्ड भएका छन्। नेपाल लाइफबाट ३ जना सिओटी र ११० जना एमडिआरटी क्वालिफायर्ड भएका छन्, जसले कम्पनीको बजार नेतृत्वलाई थप मजबुत बनाएको छ।
दोस्रो स्थानमा एलआइसी नेपाल रहेको छ। एलआइसी नेपालबाट ३ जना टिओटी, ६ जना सिओटी र ८२ जना एमडिआरटी गरी कुल ९१ जना अभिकर्ता क्वालिफायर्ड भएका छन्। तेस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ, जहाँबाट २ जना टिओटी, ४ जना सिओटी र ८३ जना एमडिआरटी क्वालिफायर्ड भएका छन्।
यस वर्ष आइएमई लाइफ पनि धेरै एमडिआरटी उत्पादन गर्ने कम्पनीहरूको सूचीमा परेको छ। कम्पनीबाट १ जना सिओटी र ७४ जना एमडिआरटी बनेका छन्। त्यस्तै, सिटिजन लाइफबाट १ जना टिओटी, २ जना सिओटी र ७० जना एमडिआरटी क्वालिफायर्ड भएका छन्।
हिमालयन लाइफबाट ३ जना सिओटी र ५७ जना एमडिआरटी बन्न सफल भएका छन् भने सूर्यज्योति लाइफबाट २ जना सिओटीसहित ५५ जना एमडिआरटी क्वालिफायर्ड भएका छन्। सानिमा रिलायन्स लाइफबाट १ जना टिओटी, १ जना सिओटी र ३९ जना एमडिआरटी बनेका छन्।
अन्य कम्पनीतर्फ रिलायबल नेपाल लाइफले २७ जना एमडिआरटी उत्पादन गरेको छ भने प्रभु महालक्ष्मी लाइफबाट २० जना, एशियन लाइफबाट १७ जना र सन नेपाल लाइफबाट ६ जना एमडिआरटी क्वालिफायर्ड भएका छन्।
एमडिआरटी २०२६ का लागि अभिकर्ताले न्यूनतम ५३ लाख ९६ हजार ७ सय रुपैयाँ बीमा शुल्क आर्जन गर्नुपर्ने व्यवस्था गरिएको थियो। यसअन्तर्गत अभिकर्ताको आय दायरा १७ लाख ९८ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो। सिओटीका लागि १ करोड ६२ लाख ९० हजार १ सय रुपैयाँ बीमा शुल्क आर्जन गर्नुपर्ने प्रावधान रहेको छ भने टिओटीका लागि ३ करोड २३ लाख ८० हजार २ सय रुपैयाँ बीमा शुल्क लक्ष्य तोकिएको छ।
जीवन बीमा क्षेत्रमा अभिकर्ताको व्यावसायिक दक्षता र उत्पादन क्षमताको अन्तर्राष्ट्रिय मान्यताको रूपमा हेरिने एमडिआरटी, सिओटी र टिओटी उपलब्धिले नेपाली बीमा बजारको विस्तार र प्रतिस्पर्धात्मक क्षमतालाई उजागर गरेको सरोकारवालाहरूको भनाइ छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpeg)







प्रतिक्रिया