NIMB Header 2
Nepal Life

प्रभु महालक्ष्मीका राजु बस्नेतको व्यवसायबाट एमडीआरटीसम्मको प्रेरक यात्रा

National Life
  • BFIS News
  • 2026 Jan 26 21:31
प्रभु महालक्ष्मीका राजु बस्नेतको व्यवसायबाट एमडीआरटीसम्मको प्रेरक यात्रा
Sanima Reliance

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको धादिङ जिल्लाबाटै पहिलो एमडीआरटी क्वालिफायर्ड राजु बस्नेतले तीन वर्षको अवधिमै नयाँ उचाइ बनाउन सफल भएका छन्। धादिङ जिल्ला ज्यामरुङ, नीलकण्ठ नगरपालिका वडा नम्बर १० का बरिष्ठ एजेन्सी म्यानेजर बस्नेत पछिल्लो समय बीमा क्षेत्रमा उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित हुँदै गएका छन्। व्यवसायिक उतार चढाव, व्यक्तिगत पीडा र सेवाभावको संगमले उनलाई आज बीमा क्षेत्रको सफल अभिकर्ता बनाएको छ।

Shikhar
NIMB

बस्नेत विगत तीन वर्षदेखि इन्स्योरेन्स क्षेत्रमा क्रियाशील छन्। “म इन्स्योरेन्स सेक्टरमा तीन वर्ष भयो,” उनी भन्छन्, “यसअघि म फेन्सी व्यवसाय गर्थें।” भारतमा लामो समय बसेर व्यवसाय गरेका बस्नेत लकडाउनपछि नेपाल फर्किए। व्यवसाय केही हदसम्म चलिरहे पनि उनी आफू अलमलिएको अवस्थामा थिए। त्यही समयमा साथीहरू र प्रभु महालक्ष्मी लाइफका धादिङ शाखा प्रमुख विष्णु ढुङ्गानाको प्रेरणाले उनी बीमा क्षेत्रमा प्रवेश गरे।

“शाखा प्रमुख सरले ‘खाली किन बस्नुहुन्छ, यही पाटोमा काम गरौँ’ भन्नुभयो,” बस्नेत सम्झन्छन्, “त्यसपछि यही क्षेत्रमा आबद्ध भएँ र अहिले यही नै मेरो कर्मक्षेत्र बनेको छ।” उनका अनुसार आज यो क्षेत्रमा रहेर सबैलाई सेवा गर्ने अवसर पाउँदा उनी सन्तुष्ट छन्।

२०४३ साल वैशाख २४ गते जन्मिएका बस्नेतको बीमाप्रतिको आकर्षण व्यक्तिगत जीवनको पीडासँग जोडिएको छ। सुरुमा उनले आफ्ना भाइ र भतिजाको बीमा गराएका थिए। तर पछि भाइलाई ब्लड क्यान्सरजस्तो गम्भीर रोगबाट पीडित भए। “त्यो बेला बीमा क्षेत्रबाट राम्रै साथ सहयोग पायौँ,” उनी भावुक हुँदै भन्छन्, “त्यसैले लाग्यो यदि मेरो भाइले सहयोग पायो भने अरूले पनि पाउनुपर्छ।” हाल उनका भतिजाले सोही बीमा मार्फत मासिक २० हजारका दरले सुविधा पाइरहेका छन्। यो सुविधा उनले बीमा अवधि पाउने छन्। 

त्यही अनुभूतिले उनलाई बीमा क्षेत्रप्रति गहिरो रूपमा समर्पित बनायो। “फजुल खर्च बचत हुने, भवितव्य पर्दा सहयोग हुने यो साँच्चै राम्रो काम रहेछ,” उनी भन्छन्, “अरूको भविष्य सुरक्षित गरिदिनुपर्छ भन्ने सोचले नै म यस क्षेत्रमा आएको हुँ।”

बस्नेतको अभिकर्ता यात्रा २०७९ सालबाट सुरु भएको हो। पहिलो वर्षमै एजेन्सी म्यानेजर, दोस्रो वर्षमा सिइओ क्लबसम्मको उपलब्धि हासिल गरेका उनले अब सिओटीसम्म पुग्ने लक्ष्य राखेका छन्। अझ ठूलो लक्ष्य भनेको टिओटी भए पनि त्यो अहिलेका लागि टाढाको सपना भएको उनी बताउँछन्।

उनी प्रभु महालक्ष्मी लाइफको धादिङ शाखाबाट पहिलो एमडिआरटी बन्न सफल भएका छन्। हालसम्म उनले १७० भन्दा धेरैको बीमा गराइसकेका छन्। उनको काम गर्ने शैली अरूभन्दा फरक छ। “जसले जति बीमा गर्न सक्नुहुन्छ, उहाँहरूको आय स्रोत हेरेर मात्र बीमा गराउँछु,” बस्नेत भन्छन्। उनका अनुसार बीमा एक वर्षको प्रिमियम तिर्ने कुरा मात्र होइन, १०, १५ वा २० वर्षसम्म निरन्तर किस्ता तिर्न सक्ने क्षमतासँग जोडिएको विषय हो।

“कतिपयले २० लाखको बीमा गरिदिनुस् भन्नुहुन्छ,” उनी भन्छन्, “तर उहाँहरूको घरखर्च, आय स्रोत सबै बुझेर मात्र निर्णय गर्नुपर्छ। नसक्ने बीमा गराएर फसाउनु मेरो उद्देश्य होइन।”

“यो वर्ष ठूलो बीमा गराएर अर्को वर्ष तिर्न नसक्ने अवस्था आयो भने सबैभन्दा गाह्रो बीमितलाई हुन्छ,” उनी स्पष्ट पार्छन्। त्यसैले जसको जत्रो आय छ, त्यहीअनुसार बीमा गराउने उनको सिद्धान्त छ ताकि भोलि कुनै समस्या नआओस्। यही इमानदार सोच र दीर्घकालीन दृष्टिकोणका कारण उनीप्रति ग्राहकको विश्वास अझै बलियो बन्दै गएको छ।

व्यवसायिक लक्ष्यमा पनि उनी स्पष्ट छन्। सकेसम्म असार मसान्तभित्रै २०२६ को MDRT को टार्गेट पुरा गर्ने उद्देश्यसहित उनी अघि बढिरहेका छन्। त्यसपछि बाँकी समयलाई COT सम्म पुग्ने प्रयासमा लगाउने उनको योजना छ। “समय राम्रै छ,” उनी भन्छन्, “मैले सकेसम्म बीमा क्षेत्रलाई नै बढी समय दिइरहेको छु।”

बीमा क्षेत्रमा सफल हुँदै जाँदा उनलाई आर्थिक सन्तुष्टिसँगै आत्मिक खुशी पनि मिलेको छ। “फजुल खर्च गर्ने साथीहरूको बचत गरिदिएका छौँ, भविष्य सुरक्षित गरिदिएका छौँ,” उनी गर्वका साथ भन्छन्। यही सेवाभावले उनलाई निरन्तर अघि बढ्न प्रेरित गरिरहेको छ।

व्यक्तिगत जीवनमा पनि राजु बस्नेत सरल र जिम्मेवार व्यक्ति हुन्। घरमा आमा, भाइ, बुहारी, भतिजाहरू छन्। आफ्नै परिवारमा श्रीमती, छोरा र छोरी छन्। बुवाको अभावको पीडालाई उनले समाज सेवामा रूपान्तरण गरेका छन्।

बीमा क्षेत्रबाट प्राप्त उपलब्धिहरूले उनलाई देश–विदेश घुम्ने अवसर पनि दिलाएको छ। टार्गेट मिट गरेर उनी थाइल्याण्ड गएका छन्, चाइना क्वालिफाइड भएर चीनको यात्रा गरेका छन् र फेरि थाइल्याण्ड जान पनि क्वालिफाइड भइसकेका छन्। देशभित्र पनि बीमा क्षेत्रकै कारण उनले थुप्रै ठाउँ घुमिसकेका छन्, अझै धेरै गन्तव्यहरू पर्खाइमै छन्।

तर राजु बस्नेतलाई अरूभन्दा फरक बनाउने कुरा उनको समाजप्रतिको प्रतिबद्धता हो। “म बिमा क्षेत्रसँगै समाज सेवामा पनि निरन्तर छु,” उनी भन्छन्। वडाले पटक पटक गुहार्दा पनि नगरेका साना साना काम, जस्तो बाटो नपुगेका ठाउँमा बाटो पुर्‍याउने, खानेपानीको अभाव भएका स्थानमा खानेपानीको व्यवस्था गर्ने यी सबै काम उनी आफ्नै गोजीबाट गर्छन्। एक वर्षमा लाखौ रुपैयाँ व्यक्तिगत खर्च गरेर पनि समाजका पछाडि परेका ठाउँमा सहयोग गर्दै आएका छन्।

आफ्नो आम्दानीको झण्डै ५० प्रतिशत समाज सेवामै खर्च गर्ने उनको प्रतिबद्धता आफैंमा दुर्लभ उदाहरण हो। “आफ्नो लागि मात्र होइन, सबैका लागि राम्रो हुने काममा म निरन्तर लागिरहनेछु,” उनी दृढताका साथ भन्छन्।

व्यवसायिक सफलतासँगै सेवाभावलाई प्राथमिकता दिने राजु बस्नेत आज धादिङमा मात्र होइन, बीमा क्षेत्रमा पनि प्रेरणाको स्रोत बन्दै गएका छन्। व्यक्तिगत पीडालाई सामाजिक सेवामा रूपान्तरण गर्दै उनी भविष्य सुरक्षित गर्ने यात्रामा निरन्तर अघि बढिरहेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया