Nepal Life

६ महिनामा वाणिज्य बैंकहरूको नाफा ३० अर्ब नाघ्यो: नबिलको सर्वाधिक धेरै, ११ वटाको बढ्दा अन्यको घट्यो

NMB Bank
  • BFIS News
  • 2026 Jan 29 09:48
६ महिनामा वाणिज्य बैंकहरूको नाफा ३० अर्ब नाघ्यो: नबिलको सर्वाधिक धेरै, ११ वटाको बढ्दा अन्यको घट्यो
National Life

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको खुद नाफा ३० अर्ब रुपैयाँ नाघेको छ। बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सो अवधिमा कुल ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

Shikhar
NIMB

 

यो नाफा गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकहरूको कुल नाफा २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ रहेको थियो। २० बैंकमध्ये ११ बैंकको नाफा बढ्दा समग्र नाफामा उल्लेख्य सुधार देखिएको हो।

नबिल बैंकको सर्वाधिक नाफा

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा नबिल बैंक लिमिटेडले सर्वाधिक नाफा आर्जन गरेको छ। बैंकले आफ्नो नाफा ४६.७१ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ पुर्‍याएको छ।

नाफा आर्जन गर्ने दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ६.५० प्रतिशत वृद्धि गर्दै ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ। त्यस्तै, कुमारी बैंकले २ अर्ब ७२ करोड, एभरेष्ट बैंकले २ अर्ब ११ करोड र प्राइम बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

कुमारी बैंकको नाफामा ठूलो उछाल

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कुमारी बैंकको नाफा सर्वाधिक ८८६.५० प्रतिशतले बढेको छ। गत वर्ष इम्पेरमेन्ट चार्जका कारण नाफा न्यून देखिएको बैंकको नाफा यस वर्ष ती खर्च घटेसँगै उल्लेख्य रूपमा बढेको हो।

बैंकको नाफा २७ करोड ५७ लाख रुपैयाँबाट बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा नेपाल बैंकको नाफा १८३.०४ प्रतिशत, सिद्धार्थ बैंकको १५०.२० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १३२ प्रतिशत ले वृद्धि भएको छ।

केही बैंकको नाफा घट्यो

दोस्रो त्रैमाससम्म एनएमबि बैंकको नाफा १७ प्रतिशत घटेर १ अर्ब ६४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४३ प्रतिशत घटेर १ अर्ब ६१ करोड, हिमालयन बैंकको १५ प्रतिशत घटेर १ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ।

त्यस्तै, कृषि विकास बैंकको नाफा २६ प्रतिशत घटेर ७० करोड ७४ लाख, सिटिजन्स बैंकको ४५.७८ प्रतिशत घटेर ३५ करोड ८८ लाख र एनआईसी एशिया बैंकको १३.५४ प्रतिशत घटेर १३ करोड ११ लाख रुपैयाँ पुगेको छ। पुस मसान्तसम्म लक्ष्मी सनराइज बैंक भने घाटामा रहेको छ। बैंकको खुद नाफा २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया