अमेरिकी बैंकको कन्फ्रेन्स कलमा सीईओको एआई क्लोन प्रयोग : ३० मिनेटसम्म लगानीकर्ता झुक्किए, विश्वभर चर्चा
- BFIS News
- 2026 Apr 30 18:56
काठमाडौं। अमेरिकाको कस्टुमर्स बैंकको त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्ने क्रममा अनौठो घटना भएको छ, जहाँ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सैम सिद्धूको साटो उनको एआई-निर्मित आवाज क्लोनले करिब ३० मिनेटसम्म लगानीकर्ता र विश्लेषकका प्रश्नहरूको जवाफ दिएको खुलेको छ।
पेन्सिलभेनियामा मुख्यालय रहेको उक्त बैंकको कन्फ्रेन्स कलमा प्रारम्भिक मन्तव्य र प्रश्नोत्तर सत्रको एक हिस्सा एआई क्लोनमार्फत सञ्चालन भएको थियो। करिब आधा घण्टापछि मात्र सीईओ सिद्धूले स्वयं स्पष्ट गर्दै आफू प्रत्यक्ष रूपमा उपस्थित नभई एआई प्रणालीमार्फत संवाद भएको जानकारी दिएका थिए।
सीएनबीसीका अनुसार, कुनै सूचीकृत कम्पनीको अर्निंग्स कलमा सीईओको एआई क्लोन प्रयोग गरिएको यो सम्भवतः पहिलो घटना हो। बैंकले हालै प्रविधि कम्पनी ओपनएआईसँग बैंकिङ सञ्चालनलाई स्वचालित बनाउने उद्देश्यले बहुवर्षीय सहकार्य पनि गरेको उल्लेख गरिएको छ।
यस घटनाले विश्वभरका वित्तीय बजार र प्रविधि समुदायमा व्यापक चर्चा उत्पन्न गरेको छ। ठूलो प्रविधि कम्पनीहरूमा पनि यस्तै अभ्यास देखिन थालेको छ। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्नै डिजिटल अवतार निर्माण गरिरहेका छन्, जसले उनको बोल्ने शैली र व्यवहारको विश्लेषण गरी कर्मचारीसँग संवाद गर्ने अपेक्षा गरिएको छ।
चीनमा भने एआई प्रविधिको प्रयोग व्यक्तिगत स्तरसम्म पुगेको छ। त्यहाँ केही प्रयोगकर्ताहरूले दिवंगत आफन्तसँग संवाद गर्न सकिने ‘घोस्ट बट्स’ बनाइरहेका छन्, जसले एआईलाई भावनात्मक प्रयोगतर्फ पनि उन्मुख गराएको देखिन्छ।
तर, यससँगै जोखिम पनि बढ्दै गएको छ। विशेषगरी भ्वाइस क्लोनिङमार्फत हुने ठगीका घटनाले चिन्ता बढाएको छ। अपराधीहरूले नक्कली आवाज प्रयोग गरी वित्तीय ठगी गर्ने घटनाहरू विभिन्न देशमा रिपोर्ट भइरहेका छन्। भारतको मध्य प्रदेशमा एक शिक्षिकालाई भाइको आवाज नक्कल गरेर करिब १ लाख भारतीय रुपैयाँ ठगी गरिएको उदाहरण यसैको एक केसका रूपमा उल्लेख गरिएको छ।
दक्षिण एसियामा पनि एआई क्लोन प्रविधिको विस्तार भइरहेको छ। भारतको बेंगलुरुस्थित स्टार्टअप जीनैनी डट एआईले १२ स्थानीय भाषामा आवाज क्लोन गर्ने प्रविधि विकास गरिरहेको छ, जसले व्यापार र सञ्चारलाई सहज बनाउने अपेक्षा गरिएको छ।
विशेषज्ञहरूका अनुसार एआई क्लोनिङले कर्पोरेट क्षेत्रमा कार्यक्षमता र स्वचालन बढाउने सम्भावना भए पनि यसको दुरुपयोग, वित्तीय सुरक्षा जोखिम र पहिचानको विश्वसनीयतासम्बन्धी चुनौती पनि उत्तिकै गम्भीर बनेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया