सिटिजन्स बैंकको डिजिटल फड्को: 'डिजी बैंक' मार्फत घरमै बैंकिङ सेवा, ९३ प्रतिशत कारोबार डिजिटल
- BFIS News
- 2026 Feb 05 12:13
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकको सहजताका लागि डिजिटल बैंकिङ सेवामा व्यापक विस्तार गरेको छ। बैंकले आफ्नो 'सिटिजन्स डिजिबैंक' (Citizens DiZiBank) प्लेटफर्ममार्फत अधिकांश बैंकिङ सेवाहरू अनलाइनमै उपलब्ध गराएपछि ग्राहकलाई स-साना कामका लागि बैंक धाउनुपर्ने बाध्यता अन्त्य हुँदै गएको छ।
हाल बैंकको कुल कारोबारमध्ये ९३ प्रतिशत कारोबार डिजिटल माध्यमबाट हुन थालेको छ। बैंकले परम्परागत बैंकिङलाई विस्थापित गर्दै 'पेपरलेस' र 'अटोमेटेड' प्रणालीलाई प्राथमिकता दिएको छ। ५० भन्दा बढी सेवाहरू समेटिएको यस प्लेटफर्मले ग्राहकलाई प्रिमियम डिजिटल अनुभव प्रदान गर्ने बैंकको दाबी छ। डिजिटल बैंकिङ युनिट प्रमुख भुपेन्द्र विष्टका अनुसार अहिले ११ वटा मुख्य मेनुमा ५० भन्दा बढि डिजिटल सेवाहरु उपलब्ध भइरहेकोमा अवका दिनमा थप १५ भन्दा बढी सेवाहरू जोड्ने काम जारी छ। साथै सिटिजन्स बैंकमा हाल मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्डरहित नगद झिक्ने प्रणाली (Cashless Withdrawal), QR भुक्तानी, स्वचालित ASBA मार्फत सेयर आवेदन, Virtual Credit Card, Payday Loan, AI आधारित अटोमेटेड टिङटिङ कल, क्रस बैंक QR टेलरजस्ता नवप्रवर्तनात्मक सेवाहरू पनि कार्यान्वयनमा आइसकेका छन्।
बैंकका डिजिटल ट्रान्सफर्मेसन युनिट प्रमुख समिप पाण्डेका अनुसार ‘'सिटिजन्स डिजिबैंक’ प्लेटफर्मबाट ग्राहकले बैंकका सबै प्रमुख सेवाहरू प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। बैंकले विकास गरेको डिजिटल सेवाहरू मोबाइल एपका साथै कम्प्युटर र ल्यापटपमार्फत पनि प्रयोग गर्न सकिने गरि विकास गरेको छ। संस्थागत ग्राहक समेत लाई लक्षित गरी फिचरहरू तयार गरिएको पाण्डे बताउछन्।
डिजिटल नवप्रवर्तनकै कारण सिटिजन्स बैंकले ‘द बैंकर’ बाट दुईवटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ। बैंक अफ द इयर २०२४ र २०२५ अन्तर्गत भर्चुअल क्रेडिट कार्डमा गरिएको सुधार र आस्वा अटोमेसनको आधारमा बैंकले उक्त सम्मान पाएको हो। साथै, क्रस बैंक क्यूआर टेलर सेवामा पनि सिटिजन्स बैंक पहिलो बैंकको रूपमा स्थापित भएको छ।
मोबाइल र वेबमा एउटै अनुभव
बैङ्कले मोबाइल र वेब दुवै प्लेटफर्ममा समान सेवा, सुविधा र अनुभव प्रदान गर्दै एकीकृत Omni-channel प्रणाली अवलम्बन गरेको छ । एउटै स्क्रिन डिजाइन, समान किसिमको प्रयोग अनुभव र समूहगत सेवा संरचनाले माध्यम परिवर्तन गर्दा पनि प्रयोगकर्तालाई निरन्तरता र सहजता दिएको छ।
सर्च फिचर, प्राथमिकताका सेवाहरूलाई अगाडी नै देखिने गरि गरिएको प्लेसमेन्ट, सुरक्षित लगइनपछि पुनः OTP नचाहिने व्यवस्था, फिङ्गरप्रिन्ट र पिन प्रमाणीकरणले सुविधा र सुरक्षाबीच सन्तुलन कायम गरिएको पाण्डे बताउछन्।
आइपिओ आवेदनमा एकद्वार सहज प्रणाली
आइपिओ (प्रारम्भिक सार्वजनिक निष्कासन) आवेदन प्रक्रियालाई अझ सहज, छरितो र झन्झटरहित बनाउने उद्देश्यसहित बैंकले एकद्वार डिजिटल प्रणालीको विकास गरेको छ। परम्परागत रूपमा आइपिओ आवेदन दिएपछि बैंकहरूले म्यानुअल रूपमा भेरिफाइ गर्नुपर्ने हुँदा कतिपय अवस्थामा आवेदन रद्द हुने समस्या देखिँदै आएको थियो। यही समस्यालाई समाधान गर्दै सिटिजन्स बैंकले सीडीएससीसँग इन्टरलिङ्क गरी आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ एपमार्फत सिधै अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाएको हो।
मोबाइल बैंकिङ मार्फत दिइने आइपिओ आवेदनमा अटोमेटिक रूपमा आवेदन प्रक्रिया सम्पन्न हुने र रकम ब्लक हुने प्रणाली विकास गरिएको बैंकले जनाएको छ। यस प्रणालीमा बैंकका कर्मचारीको न्यूनतम निगरानी मात्र रहनेछ। ग्राहकले पहिलो पटक आफ्नो डिम्याट नम्बर इन्ट्री गरी सीआरएन नम्बर रजिस्ट्रेसन गरेपछि त्यसपछिका सबै आइपिओ आवेदन सहज रूपमा दिन सक्नेछन्। यसरी सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘मेरो सेयर’को माई आस्वा सुविधा प्रयोग गर्न सकिन्छ।
QR मर्चेन्ट कर्जा
यसैबीच, QR मर्चेन्ट प्रयोग गर्ने साना व्यवसायीलाई लक्षित गर्दै बैंकले ‘QR मर्चेन्ट कर्जा’ सुविधा थप गरेको छ। उक्त कर्जाका लागि 'सिटिजन्स डिजिबैंक' बाटै आवेदन दिन सकिने र प्रणालीले स्वचालित रूपमा मूल्याङ्कन गर्ने व्यवस्था गरिएको पाण्डेले बताए। तत्काल ५० हजार रुपैयाँजस्ता साना कर्जा आवश्यक परेमा पनि अन्य झन्झटिलो प्रक्रिया नगरी एपमार्फतै कर्जा प्राप्त गर्न सकिने उनले उल्लेख गरे।
ग्राहकको आवेदनपछि बैंकले कालोसूचीमा रहे–नरहेको मूल्याङ्कन मात्र गर्ने र अनावश्यक ढिलाइ नगर्ने नीति लिएको जनाएको छ। साथै, शाखामा लकर सुविधा उपलब्ध छ वा छैन भन्ने जानकारीका लागि धाउनुपर्ने बाध्यतालाई हटाउँदै 'सिटिजन्स डिजिबैंक' मार्फतै बुकिङ गरी सेवा लिन सकिने व्यवस्था पनि मिलाइएको छ।
कर चुक्ता प्रमाणपत्रको सुविधा
बैंकले ग्राहकहरूलाई आफुले बैंकमा जम्मा गरेको पैसाबाट राज्यलाई तिरेको कर विवरण समेत 'सिटिजन्स डिजिबैंक' बाटै प्राप्त गर्न सक्ने सुविधा दिएको छ। त्रैमासिक अडिटको समयमा विभिन्न संस्थाले यस्ता प्रमाणपत्रहरू खोजिरहेका हुन्छन्। व्यक्ति वा संस्थाले कति ब्याज आम्दानी गरे र त्यसबाट राज्यलाई कति कर तिरे भन्ने विवरण यही एपमार्फत थाहा पाउन सकिने भएकाले यो सेवामा पनि सिटिजन्स बैंक अग्रणी बनेको छ।
डिजिटल केवाइसी
बैंकहरूमा केवाइसी (KYC) अद्यावधिक प्रक्रिया झन्झटिलो हुने गुनासोलाई सम्बोधन गर्न आवश्यक विवरण मात्र सच्याउन वा थप्न मिल्ने डिजिटल प्रणाली विकास भइरहेको छ, जुन छिट्टै कार्यान्वयनमा आउने पाण्डेले जानकारी दिए।
यससँगै सिटिजन्स बैंकले भिडियो बैंकिङ सेवा पनि सुरु गर्ने तयारी गरेको छ। उक्त सेवा कार्यान्वयनमा आएपछि कुनै पनि बैंकिङ सेवा लिन ग्राहकले शाखा धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ। सरकारी निकायका विवरणहरू एपिआइ (API) मार्फत एकीकृत गर्न सकिएमा धेरै प्रक्रिया पूर्ण रूपमा डिजिटल र अटोमेटेड हुने बैंकको विश्वास छ। डिजिटल बैंकिङ अवधारणालाई व्यवहारमा उतार्दै सिटिजन्स बैंकले शाखामा प्रत्यक्ष उपस्थित नभई सेवा लिन सकिने अत्याधुनिक सेवाहरू विस्तार गरेको छ।
कागजरहित बैंकिङलाई प्राथमिकता दिँदै नागरिकता, राष्ट्रिय परिचयपत्र, प्यान नम्बर, सवारी चालक अनुमतिपत्र, भोटर आइडी र डिम्याट नम्बरजस्ता महत्वपूर्ण कागजातहरूलाई डिजिटल रूपमा एकीकृत गर्ने प्रयास पनि भइरहेको छ। ती विवरणहरू सरकारी एजेन्सीसँग API मार्फत लिंक गरी भेरिफाइ गर्ने उपायमा बैंकले काम गरिरहेको छ। पुराना ग्राहकका खातामा यी विवरणहरू अद्यावधिक नभएको अवस्थामा शाखा जानुपर्ने बाध्यतालाई हटाउँदै ग्राहकले आफैं ‘'सिटिजन्स डिजिबैंक'’ मार्फत अपलोड गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ।
डिजिटल बैंङ्किङ रणनीति
बैंकले ग्राहकको समय बचत, झन्झटरहित सेवा, २४/७ बैंकिङ पहुँच र जीवनशैली अनुकूल समाधानलाई प्राथमिकतामा राखेको छ। हाल करिब ९३ प्रतिशत कारोबार डिजिटल माध्यमबाट भइरहेको, शाखामा नगद कारोबारको संख्या घट्दै गएको र ठूला कारोबारसमेत डिजिटल प्रणालीमार्फत सहज रूपमा सञ्चालन भइरहेको तथ्य यस रणनीतिको प्रत्यक्ष परिणाम हो।
डिजिटलाइजेसनको विस्तारसँगै ग्राहकहरूले बैंकिङ सेवा पहिलेभन्दा छिटो, पारदर्शी र सहज भएको प्रतिक्रिया दिइरहेका छन्। डिजिटल माध्यमबाट सेवा लिँदा समय र लागत दुवैको बचत भएको ग्राहकहरूको भनाइ छ। ग्राहकको आवश्यकता र फिडब्याकलाई केन्द्रमा राख्दै सिटिजन्स बैंकले सेवाहरूको निरन्तर परिमार्जन, प्रयोगकर्तामैत्री इन्टरफेस विकास तथा गुनासो व्यवस्थापन प्रणालीलाई थप सशक्त बनाएको छ।
सिटिजन्स बैंकले अवलम्बन गर्दै आएको डिजिटल रणनीतिले आज बैंकको डिजिटल बैंकिङमा ठुलो छलाङ मारिरहेको छ। बैंकले डिजिटल सेवा शहरी क्षेत्रमा मात्र सीमित नराखी ग्रामीण तथा अर्ध–शहरी क्षेत्रसम्म विस्तार गर्ने दीर्घकालीन रणनीति अपनाएको छ।
बैंकले डिजिटल बैंकिङलाई जोड दिदै गर्दा सुरक्षाका क्षेत्रमा पनि काम गरिरहेको छ। यसका लागि Two-Factor Authentication (2FA), उच्चस्तरीय इन्क्रिप्शन, नियमित सुरक्षा अडिट तथा प्रणालीको निरन्तर अनुगमन आज बैंकिङ सुरक्षाको मेरुदण्ड बनेका छन् । नयाँ सफ्टवेयर तथा डिजिटल सेवा विकासको प्रारम्भिक चरणदेखि नै सुरक्षा योजना समावेश गर्ने र कार्यान्वयनपछि कडाइका साथ निगरानी गर्ने अभ्यासले ग्राहकको विश्वास थप मजबुत बनाएको छ ।
बैंकले ग्राहकहरूलाई कुन सेवामा समस्या भइरहेको छ भन्ने विषयमा नियमित रूपमा जानकारी लिने र सेवा लिने क्रममा देखिने कुनै पनि किसिमका समस्या वा अवरोधलाई तत्काल समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ। सकेसम्म ग्राहकलाई सरल, सहज र झन्झटरहित सेवा प्रदान गर्नु नै बैंकको मुख्य उद्देश्य रहेको छ।
नेपाल राष्ट्र बैंकका प्रोत्साहनमूलक नीति र निर्देशनहरूले डिजिटल बैंकिङलाई कानुनी मान्यता, सुरक्षा र विश्वास प्रदान गरेका छन् । पाँच लाख रुपैयाँभन्दा माथिका कारोबार नगदमा नगर्न दिइएको निर्देशनले डिजिटल भुक्तानी प्रणालीलाई तीव्र रूपमा बढावा दिएको छ ।
समग्रमा, डिजिटल बैंकिङले वित्तीय समावेशीकरण प्रवर्द्धन, सञ्चालन लागत न्यूनीकरण र सेवाको पहुँच विस्तार गर्ने ऐतिहासिक अवसर प्रदान गरेको छ । यद्यपि, साइबर सुरक्षा जोखिम, डिजिटल ठगी र डिजिटल साक्षरताको अभाव जस्ता चुनौतीहरू अझै गम्भीर छन् ।
यी चुनौतीहरूको प्रभावकारी व्यवस्थापनका लागि सुरक्षित प्रविधिमा निरन्तर लगानी, अद्यावधिक नियामकीय व्यवस्था र ग्राहकलाई सचेत तथा शिक्षित बनाउनु अपरिहार्य रहेको सिटिजन्स बैंकको निष्कर्ष छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया