NIMB Header 2
Nepal Life

प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोष १५ अर्ब नाघ्यो, प्रमुख सूचकमा उत्साहजनक सुधार

National Life
  • BFIS News
  • 2026 Feb 12 11:49
प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोष १५ अर्ब नाघ्यो, प्रमुख सूचकमा उत्साहजनक सुधार
Sanima Reliance

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको नाफा केही घटेको देखिए पनि बीमा कोष, बीमा शुल्क आर्जन तथा कुल आम्दानीजस्ता प्रमुख सूचकहरूमा भने सकारात्मक सुधार देखिएको छ।

Shikhar
NIMB

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले १३ करोड ३१ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २७ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १८ करोड २५ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो।

नाफामा सामान्य दबाब देखिए पनि कम्पनीको जीवन बीमा कोष उल्लेखनीय रूपमा विस्तार भएको छ। समीक्षा अवधिमा जीवन बीमा कोष ३३.३१ प्रतिशतले वृद्धि भई १५ अर्ब ८५ करोड ४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कोष ११ अर्ब ८९ करोड रुपैयाँमा सीमित थियो।

यसैगरी, दोस्रो त्रैमाससम्म कम्पनीको खुद बीमा शुल्क आर्जन २२.४७ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ७१ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा खुद बीमा शुल्क २ अर्ब २६ करोड ७५ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको कुल आम्दानी पनि सुधारिएको देखिन्छ। समीक्षा अवधिमा कुल आम्दानी १३.३० प्रतिशतले वृद्धि भई ३ अर्ब ३७ करोड ५ लाख रुपैयाँ पुगेको छ भने खर्च १५.९४ प्रतिशतले बढेर ३ अर्ब २३ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

अभिकर्ता सञ्जाल विस्तार र सशक्तीकरणमा कम्पनीको खर्च पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा अभिकर्ता खर्च २३ करोड २० लाख रुपैयाँ रहेकोमा चालु वर्षको सोही अवधिमा १४.६८ प्रतिशतले बढेर २६ करोड ६१ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

वित्तीय सूचकतर्फ हेर्दा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ५ रुपैयाँ ०२ पैसा र प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ०२ पैसा कायम रहेको छ। समग्रमा नाफामा केही गिरावट आए पनि प्रभु महालक्ष्मी लाइफको व्यवसायिक विस्तार र आधारभूत सूचकहरू सकारात्मक दिशातर्फ अघि बढिरहेको देखिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया