अभिकर्ता लाइसेन्स नविकरणमा तीन महिना समय थप गर्न बीमा प्राधिकरणसँग अभिकर्ता संघको आग्रह
- BFIS News
- 2026 Feb 12 21:14
काठमाडौं। पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमा अभिकर्ताको इजाजतपत्र नविकरण गर्दा मोलहत समयको व्यवस्था गरिदिन नेपाल बीमा प्राधिकरणसँग आग्रह गरेको छ। संघका सचिव कल्याण विक्रम पाण्डेले प्राधिकरणलाई पत्राचार गर्दै इजाजतपत्र समयमै नविकरण हुन नसकेको अवस्थामा तीन महिनासम्म कुनै थप शुल्क वा जरिवाना नलाग्ने व्यवस्था गर्न अनुरोध गरेका हुन्।
संघले जनाएको अनुसार बीमा क्षेत्रलाई व्यवस्थित बनाउन बीमा सम्बन्धी कानूनहरूमा गर्नुपर्ने सुधारका विषयमा अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न २०८१/१२/०३ मा प्राधिकरणबाट प्राप्त पत्रका आधारमा निर्देशक शाम्बराज लामिछानेको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलमा पेशागत बीमा अभिकर्ता संघ नेपाल, जीवन बीमक संघ नेपाल, नेपाल बीमक संघ, लघु बीमक संघ तथा एक जना विज्ञसमेत सहभागी थिए।
कार्यदलले संयुक्त रूपमा विस्तृत छलफल गरी २०८२/०२/१४ मा आफ्नो प्रतिवेदन प्राधिकरण समक्ष पेश गरेको संघले जनाएको छ। साथै, पेशागत बीमा अभिकर्ता संघ नेपालको तर्फबाट ५० पेजभन्दा बढीको थप सुझावसहितको अलग प्रतिवेदन समेत सोही समयमा बुझाइएको थियो।
देशभरका हजारौं अभिकर्ता प्रतिनिधिमार्फत प्राप्त सुझावहरू समेटिएको उक्त प्रतिवेदनले नेपालको बीमा व्यवसायको विकास र विस्तारमा सहयोग पुग्ने तथा समग्र अर्थतन्त्रलाई समृद्धिको दिशामा अघि बढाउन टेवा पुग्ने संघको विश्वास छ। ती सुझावहरू क्रमिक रूपमा कार्यान्वयन हुने अपेक्षा गरिएको छ।
यसै सन्दर्भमा प्राधिकरणका एक निर्देशकले बीमा ऐन २०७९ को दफा ९४ (२) बमोजिम इजाजतपत्र नविकरणका लागि थप तीन महिना म्याद थप गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सो सम्बन्धमा आवश्यक परिपत्र जारी गर्न मनासिब हुने राय पनि पेश गरेका छन्।
प्राकृतिक न्यायको सिद्धान्त, श्रमजीवी अभिकर्ताहरूको हित तथा बीमा व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले इजाजतपत्र नविकरण म्याद समाप्त भएको तीन महिनासम्म कुनै थप शुल्क वा जरिवाना नलाग्ने गरी मोलहत समय राख्न र सो व्यवस्था सबै बीमा कम्पनीहरूमा कार्यान्वयनका लागि निर्देशन दिन संघले अनुरोध गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)















प्रतिक्रिया