नेपाल बीमा प्राधिकरणद्वारा कृषि बीमा अभिकर्ता तालिम सम्पन्न
- BFIS News
- 2026 Feb 18 18:57
काठमाडौं। नेपाल बीमा प्राधिकरणको कृषि विभागद्वारा आयोजित तीन दिने कृषि, पशुपन्छी तथा जडीबुटी सम्बन्धी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ। तालिम फागुन ४, ५ र ६ गते चितवनस्थित कृषि तालिम केन्द्रमा सञ्चालन गरिएको थियो ।कार्यक्रममा तीन वटा प्रदेशबाट २३ जना कृषि प्राविधिकहरूको सहभागिता रहेको थियो।
तालिमको संयोजक प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जन रहेका थिए। पहिलो दिन कृषि, पशुपन्छी तथा जडीबुटी सम्बन्धी बीमा निर्देशिका २०८१ र अनुदान कार्यविधि २०८१ का विषयमा उपमहानिर्देशक ललन सिंहले प्रस्तुति दिएका थिए। साथै प्राधिकरणकै सहायक निर्देशक दिपक ज्ञवालीले जोखिम तथा जोखिम व्यवस्थापनका सैद्धान्तिक पक्ष र कृषि बीमासम्बन्धी जानकारी गराएका थिए। उपनिर्देशक राजेन्द्र महर्जनले बीमा तथा पशुपन्छी बीमामा अभिकर्ताको व्यवस्था सम्बन्धी प्रस्तुति दिएका थिए भने दिपक ज्ञवालीले पशुधन बीमालेख सम्बन्धी विस्तृत जानकारी दिएका थिए।
दोस्रो दिन बीमा सम्बन्धी कानुनी व्यवस्था, पक्षी बीमालेख, मौरी बीमालेख, उत्पादनमा आधारित तरकारी बाली बीमालेख, च्याउ खेती बीमालेख तथा अन्य बीउबाली उत्पादन बीमालेखका विषयमा प्रस्तुति गरिएको थियो।
तेस्रो दिन माछा बीमालेख, चैते धान बाली (सामूहिक), केरा बीमालेख, अदुवा–बेसार खेती बीमालेख लगायतका विषयमा जानकारी दिइयो। साथै बाली तथा पशुपन्छी बीमा गर्ने प्रक्रिया र एलआइएस सफ्टवेयर सम्बन्धी प्राविधिक जानकारी समेत प्रदान गरिएको थियो।
समापन कार्यक्रममा बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीले कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित धेरै निर्देशिका तथा नीतिहरू आइसकेकाले अब तिनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आधार तयार भएको बताए। उनले भने, “सिकाइ त्यो ज्योति हो, जसले जीवनलाई मात्र होइन, समाजलाई पनि उज्यालो बनाउँछ।”
उनले कृषि बीमाका क्षेत्रमा धेरै सुधारका काम भए पनि बीमाको कभर एकदमै न्युन रहेको बताए। उनले भने 'कृषि बीमाको कभरेज बाली क्षेत्रमा हाल करिब ४ प्रतिशत मात्र रहेको हुँदा यसलाई विस्तार गर्नुपर्नेछ।'
उपमहानिर्देशक ललन सिंहले तालिम प्राप्त अभिकर्ताले आ–आफ्नो क्षेत्रमा दक्षता प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। सहभागीहरूले तालिम अत्यन्त प्रभावकारी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए।
प्राधिकरणका तर्फबाट उपनिर्देशक राजेन्द्र महर्जन र सहायक निर्देशक दिपक ज्ञवालीले तालिमले प्राविधिक ज्ञानका साथै जिम्मेवारी, समर्पण र सेवाको भावना विकास गर्न सहयोग पुगेको बताए। तालिममा सहभागीले “यहाँ सिकेका सीप र अनुभवलाई हामी आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दै किसानको जीवनस्तर सुधार गर्न प्रतिबद्ध रहनेछौं।” भन्दै प्रतिक्रिया दिएका थिए।
कृषि विभागले यस तालिमबाट दक्ष कृषि बीमा अभिकर्ताको उत्पादन भएको जनाएको छ। जसले कृषि बीमाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpg)






प्रतिक्रिया