NIMB Header 2
Nepal Life

प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, प्रचारप्रसारमा रोक

IME LIFE
  • BFIS News
  • 2026 Mar 03 13:50
प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, प्रचारप्रसारमा रोक
United Ajod

काठमाडौँ, फागुन १९ गते । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार अवधि मङ्गलबार मध्यरातदेखि समाप्त भएको हो। निर्वाचन आयोग, नेपालले फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो।

 

Nepal Life
NIMB

मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम रहने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षा तथा निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न निषेध गरिएको छ। मौन अवधिमा मत माग्ने, सामाजिक सञ्जालमा प्रचार सामग्री पोस्ट गर्ने, निर्वाचन प्रभावित हुने गरी हिँडडुल गर्ने कार्यसमेत गर्न पाइँदैन।

मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने आर्थिक कारोबार गरेको पाइएमा उम्मेदवारी खारेज हुन सक्ने र छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने व्यवस्था रहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभएको छ। आयोगले निर्वाचनलाई प्रभावित पार्ने गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पारेको छ।

मौन अवधिले मतदातालाई स्वच्छ र स्वतन्त्र वातावरणमा विवेकपूर्ण ढङ्गले मतदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। यस अवधिमा निर्वाचन व्यवस्थापनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई अन्य प्रचार–प्रसार कार्यबाट मुक्त गरी शान्त वातावरणमा निर्वाचन व्यवस्थापन गर्ने अवसर प्रदान गरिन्छ।

मौन अवधिमा मतदान केन्द्र वरिपरि ३०० मिटर क्षेत्रभित्र रहेका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था आचारसंहितामा उल्लेख छ। यस अवधिमा एसएमएस, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमार्फत मत माग्न तथा प्रचारप्रसार गर्न पाइँदैन। साथै उम्मेदवार वा दलको प्रचार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्नसमेत निषेध गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया