निर्यात प्रवर्द्धनका लागि इ–कमर्स र पेमेन्ट प्रणाली सुधार आवश्यकः पाण्डे
- BFIS News
- 2026 Mar 20 12:42
काठमाडौं । नेपालबाट निर्यात वृद्धि गर्न इ–कमर्स प्लेटफर्म र पेमेन्ट गेटवे प्रणालीलाई सहज र प्रभावकारी बनाउनु आवश्यक रहेको नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले बताएका छन्।
उनका अनुसार हाल नेपालमा विदेशबाट सामान खरिद गर्न सकिने डिजिटल माध्यमहरू उपलब्ध भए पनि नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सक्ने अनलाइन प्रणालीको अभाव छ। यस्तो अवस्थामा आयातमुखी एप र पोर्टलभन्दा निर्यात केन्द्रित डिजिटल प्लेटफर्म विकास गर्नु प्राथमिक आवश्यकता भएको उनले उल्लेख गरे।
पाण्डेले नेपालमै इ–कमर्स पेमेन्ट गेटवे प्रणाली विकास गरी पेपल र अमेजनजस्ता अन्तर्राष्ट्रिय कम्पनीलाई आकर्षित गर्नुपर्ने धारणा राखे। ती कम्पनीहरू नेपालमा स्थापना भएमा नेपाली उत्पादनको विश्वव्यापी बजार विस्तारमा सहयोग पुग्ने उनको विश्वास छ।
यस्तै, उनले पेमेन्ट प्रणालीलाई सरल बनाउनु आवश्यक रहेको बताउँदै निर्यातका लागि उपयुक्त अनलाइन पूर्वाधार निर्माण गर्न सकिने बताए।
अध्यक्ष पाण्डेले निर्यात अनुदान र करसम्बन्धी नीतिमा देखिएका समस्याहरू समाधान गर्नुपर्ने पनि औंल्याए। उनका अनुसार निर्यात अनुदानसम्बन्धी कार्यविधि हरेक वर्ष परिवर्तन हुने प्रवृत्तिले व्यवसायीलाई अन्योलमा पार्ने गरेको छ, त्यसलाई स्थिर बनाउनु आवश्यक छ।
त्यसैगरी, निर्यातसम्बन्धी सरकारी प्रक्रियाहरूलाई फेसलेस प्रणालीमार्फत सञ्चालन गर्नुपर्ने उनले सुझाए। यसले प्रक्रियालाई पारदर्शी र सरल बनाउँदै निर्यात वृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
पाण्डेले करिब ८० लाख नेपाली विदेशमा रहेको उल्लेख गर्दै उनीहरूले पठाउने रेमिट्यान्सलाई उत्पादन र लगानीमा उपयोग गर्ने स्पष्ट नीति आवश्यक रहेको पनि बताएका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)














प्रतिक्रिया