यस्ता छन् बालेन सरकारको पहिलो बैठकका चार निर्णय
- BFIS News
- 2026 Mar 27 18:40
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठक सम्पन्न गरी महत्वपूर्ण चार बुँदे निर्णय सार्वजनिक गरेको छ।
बैठकले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएको सबै ज्ञात र अज्ञात शहीदहरूप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ। सरकारले जनताको मुद्दाका लागि बलिदान भएका व्यक्तिहरूप्रति कृतज्ञता प्रकट गर्दै उनीहरूको योगदानलाई ऐतिहासिक रूपमा स्मरण गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।
त्यसैगरी, मन्त्रिपरिषद्ले नेपाल सरकारको प्रवक्ताका रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई तोक्ने निर्णय गरेको छ। अबदेखि सरकारी नीतिगत जानकारी तथा निर्णय सार्वजनिक गर्ने जिम्मेवारी सो मन्त्रालयका मन्त्रीमार्फत हुनेछ।
बैठकले शासकीय सुधारका लागि एक सय कार्यसूची स्वीकृत गर्ने निर्णयसमेत गरेको छ। ती कार्यसूचीमार्फत प्रशासनिक सुधार, पारदर्शिता, सुशासन र डिजिटल प्रणाली विस्तारका प्रयास अघि बढाइने जनाइएको छ। यसका विस्तृत विवरण भोलिसम्म सार्वजनिक गरिने सरकारका प्रवक्ताले जानकारी दिएका छन्।
त्यस्तै, मन्त्रिपरिषद्ले भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठन भएको कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। यसले आन्दोलनका क्रममा भएका घटनाहरूको न्यायिक समाधानका लागि ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।
बालेन सरकारको पहिलो बैठकका चार निर्णय
१. भदौ २३–२४ र अन्य आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने।
२. नेपाल सरकारको प्रवक्ता का रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई तोक्ने।
३. शासनकीय सुधारका लागि १०० कार्यसूची स्वीकृत गर्ने।
४. जेनजी आन्दोलन छानबिन आयोग (कार्की आयोग) को प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने।
नवगठित बालेन सरकारको पहिलो बैठकका यी निर्णयहरूलाई राजनीतिक वृत्तमा दृढ नीति र शीघ्र कार्य शैलीको संकेतका रूपमा लिइएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया