विराटनगरमा ११ लाखभन्दा बढीको अवैध सामान बरामद, टेम्पोसहित सामान भन्सारमा बुझाइयो
- BFIS News
- 2026 Apr 13 20:17
चैत ३० गते । नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै हुने चोरी पैठारी नियन्त्रणका लागि मोरङ प्रहरीले सक्रियता बढाएको छ । सोही क्रममा विराटनगरबाट ११ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरिएको छ ।
आइतबार दिउँसो र राति छुट्टाछुट्टै समयमा भारतबाट भन्सार छली गरी ल्याइएका कपडा र हरियो मटर प्रहरीले नियन्त्रणमा लिएको हो । तस्करीमा प्रयोग गरिएका दुई वटा टेम्पोसहित सामान बरामद गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार को २ ह ३२४५ र को २ ह ३५८९ नम्बरका टेम्पो विराटनगर महानगरपालिका–६ क्षेत्रबाट शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको हो । खानतलासीका क्रममा बिलबिनाका विभिन्न प्रकारका लत्ताकपडा र हरियो मटर फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी पुग्नेबित्तिकै चालकहरू भने टेम्पो छाडेर फरार भएका थिए । बरामद सामानमा कुर्ता–सलवार, लेडिज टप्स लगायत महिला, पुरुष तथा बालबालिकाले प्रयोग गर्ने कपडाका सामग्री रहेका छन् ।
बरामद सामान र टेम्पोसहितको कुल भन्सार मूल्यांकन ११ लाख ११ हजार ५ सय ५५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । ती सामग्रीलाई थप अनुसन्धान तथा कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।
फरार चालकहरूको खोजी कार्य तीव्र पारिएको डीएसपी लामिछानेले जानकारी दिनुभयो ।
यसैबीच, मोरङ प्रहरीले चालु चैत महिनामा मात्रै १ करोड ५५ लाख ४५ हजार २०८ रुपैयाँ बराबरका तस्करीका सामान बरामद गरेको जनाएको छ । सो अवधिमा मोटर पार्ट्स, खाद्यान्न, लत्ताकपडा, हार्डवेयर सामग्री, पेय पदार्थ, मरिच र बेसारलगायत वस्तुहरू नियन्त्रणमा लिइएका छन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया