सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने
- BFIS News
- 2026 Apr 17 17:29
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारलाई थप फराकिलो र चलायमान बनाउने उद्देश्यसहित ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा गरिएको संशोधन आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा ल्याउने भएको छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुली ले सर्किट सम्बन्धी नयाँ व्यवस्था सोही मितिबाट लागू हुने जानकारी दिएका छन्। उनका अनुसार धितोपत्र बोर्डबाट स्वीकृत संशोधित विनियमावली अनुसार बजार सञ्चालनमा महत्वपूर्ण परिवर्तन गरिएको हो।
१५ प्रतिशतसम्म मूल्य उतारचढाव हुने
नयाँ व्यवस्था अनुसार अब पूँजी बजारमा सूचीकृत कम्पनीहरूको दैनिक शेयर मूल्य घटबढको सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ। यससँगै कुनै पनि कम्पनीको शेयर मूल्य एकै दिनमा १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ। यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो।
प्री-ओपन सेसनमा ५ प्रतिशतको सीमा
बजार खुल्नुअघि हुने ‘प्री-ओपन सेसन’ (बिहान १०:३० देखि १०:४५ बजेसम्म) को मूल्य सीमा पनि परिमार्जन गरिएको छ। अब यस अवधिमा शेयर मूल्य ५ प्रतिशतसम्म घटबढ हुन पाउनेछ। यसअघि २ प्रतिशतको सीमा रहेको थियो। नयाँ व्यवस्थाले बजार खुल्ने बित्तिकै देखिने मूल्य असन्तुलन घटाई वास्तविक मूल्य निर्धारणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेप्से सूचकमा दुई तहको सर्किट ब्रेकर
समग्र बजार सूचक (नेप्से इन्डेक्स) मा यसअघि रहेको ४, ५ र ६ प्रतिशतको तीन तहको सर्किट प्रणाली हटाइएको छ। अब ५ र ८ प्रतिशतको दुई तहको सर्किट ब्रेकर लागू हुनेछ।
५ प्रतिशतमा पहिलो ब्रेक: कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से सूचक ५ प्रतिशतले बढे वा घटेमा कारोबार १५ मिनेटका लागि स्थगित गरिनेछ।
८ प्रतिशतमा पूर्ण बन्द: पहिलो ब्रेकपछि पुनः खुलेको बजारमा सूचक ८ प्रतिशतले उतारचढाव भएमा सो दिनको बाँकी समयका लागि सम्पूर्ण कारोबार बन्द हुनेछ।
कार्यान्वयन र अपेक्षित प्रभाव
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट संशोधित विनियमावलीको स्वीकृति प्राप्त भएसँगै नेप्सेले प्राविधिक तयारी पूरा गरी वैशाख ७ गतेदेखि कार्यान्वयनको मिति तय गरेको हो।
अन्तर्राष्ट्रिय अभ्यास तथा नेपाली पूँजी बजारमा बढ्दो लगानीकर्ताको संख्यालाई ध्यानमा राख्दै गरिएको यस परिवर्तनले बजारलाई थप गतिशील बनाउने विश्वास गरिएको छ। यद्यपि मूल्य सीमा १५ प्रतिशत पुर्याउँदा बजारमा अस्थिरता बढ्न सक्ने आकलन गरिएको भए पनि यसले वास्तविक मूल्य खोजी प्रक्रिया र तरलता अभिवृद्धिमा सहयोग पुर्याउने विश्लेषण गरिएको छ।
नयाँ व्यवस्था लागू भएसँगै नेपालको पूँजी बजार थप परिपक्व र आकर्षक बन्ने तथा लगानीकर्ताहरूका लागि नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया