उच्च माग हुँदाहुँदै पनि नेपाली कफी उत्पादन किन कमजोर ?
- BFIS News
- 2026 Apr 16 13:57
काठमाडौं । आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको नेपाली कफी उत्पादन अपेक्षित रूपमा बढ्न नसक्दा आपूर्ति र मागबीच ठूलो अन्तर देखिएको छ।
पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादन, उत्पादकत्व र नीतिगत व्यवस्थापनका चुनौतीका कारण बजारको आवश्यकता पूरा हुन सकेको छैन।
नेपाल कफी व्यवसायी महासंघ का अनुसार नेपालमा कफी (ग्रिन बिन्स) को वार्षिक आन्तरिक माग करिब ३ हजार मेट्रिक टन छ भने अन्तर्राष्ट्रिय बजारमा ८ हजार मेट्रिक टनभन्दा बढी माग रहेको छ। तर, देशभित्र वार्षिक उत्पादन भने करिब ६४१ मेट्रिक टनमा सीमित छ, जसका कारण आन्तरिक बजारमै करिब २ हजार ३५९ मेट्रिक टन अभाव देखिएको छ।
उक्त अभाव पूर्ति गर्न ठूलो परिमाणमा कफी आयात भइरहेको छ, जसको अधिकांश हिस्सा भारतबाट आउने गरेको बताइएको छ। महासंघका अनुसार करिब २ हजार १५९ मेट्रिक टन कफी बिन्स अनौपचारिक माध्यमबाट आयात हुने गरेको दाबी गरिएको छ।
नेपालबाट जापान र जर्मनीलगायत देशमा सीमित मात्रामा कफी निर्यात हुँदै आएको भए पनि घरेलु उत्पादनले आन्तरिक माग धान्न नसक्दा निर्यात विस्तारमा चुनौती देखिएको सरोकारवालाहरू बताउँछन्।
नेपालमा कफी खेतीको इतिहास झण्डै नौ दशक पुरानो छ। वि.सं. १९९५ मा गुल्मीबाट सुरु भएको खेती अहिले मध्यपहाडी क्षेत्रका करिब ४० जिल्लामा फैलिएको छ। यद्यपि, कफी खेतीका लागि उपयुक्त मानिएको करिब ११ लाख ९८ हजार हेक्टर जमिनमध्ये हालसम्म करिब ५ हजार ५०१ हेक्टरमा मात्र खेती भइरहेको छ, जुन कुल सम्भावित क्षेत्रको एक प्रतिशतभन्दा कम हो।
उत्पादन र मागबीचको असन्तुलनको प्रमुख कारण कम उत्पादकत्व रहेको जानकारहरू बताउँछन्। विकसित देशहरूमा प्रति हेक्टर करिब १ टन उत्पादन हुने गरेको अवस्थामा नेपालमा भने करिब २ क्विन्टल मात्र उत्पादन हुने गरेको उल्लेख गरिएको छ।
कफी खेतीका लागि उपयुक्त उचाइ र भू–भागको छनोटमा पनि स्पष्ट रणनीति अभाव रहेको सरोकारवालाहरूको भनाइ छ। व्यवसायिक उत्पादनका लागि उपयुक्त क्षेत्र पहिचान र प्रविधिको प्रयोगमा ध्यान दिन आवश्यक देखिएको छ।
विश्वव्यापी रूपमा कफी ठूलो व्यापारिक कृषि उपजमध्ये एक हो। विभिन्न अध्ययनअनुसार कफी क्षेत्रमा विश्वभर करिब २५ करोड मानिस प्रत्यक्ष रूपमा आबद्ध छन्।
नेपालमा करिब २६ हजार किसान कफी खेतीमा संलग्न रहेको र कफी क्याफेहरूमा २० हजारभन्दा बढीले रोजगारी पाएको तथ्यांक छ। नेपालमा मुख्यतः उच्च गुणस्तरको अरेबिका जातको कफी उत्पादन हुने गरेको बताइन्छ।
सरोकारवालाहरूका अनुसार कफी क्षेत्रको विकासका लागि नीतिगत सुधार, उत्पादन वृद्धि, लगानी विस्तार र बजार व्यवस्थापनमा समन्वय आवश्यक छ। सरकारी निकायहरूले स्थानीय तहसँग सहकार्य गरी कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया