नेपाल लाइफले रजत जयन्तीको अवसरमा बीमितलाई दियो बम्पर उपहार, विलम्ब शुल्कमा १००% छुट
- BFIS News
- 2026 Apr 20 12:28
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को अवसरमा बीमितहरूका लागि आकर्षक छुट योजना सार्वजनिक गरेको छ। “उत्सव २५ वर्षको, उपहार १००% छुटको!” भन्ने नारासहित कम्पनीले बीमा पोलिसी नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।
कम्पनीले आर्थिक रूपमा चुनौतीपूर्ण अवस्थाका कारण निष्क्रिय (ल्याप्स) भएका बीमालेखहरू पुनः सक्रिय गराउने उद्देश्यले “विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३” लागू गरेको जनाएको छ। यस योजना अन्तर्गत २०८३ साल वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट प्रदान गरिनेछ।
नेपाल लाइफका अनुसार पछिल्लो समय आर्थिक कठिनाइका कारण धेरै बीमितले समयमै प्रिमियम भुक्तानी गर्न नसक्दा बीमालेख निष्क्रिय हुँदै गएका छन्। यस्तो अवस्थामा सहज रूपमा नवीकरण गरी बीमितहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्न यो योजना ल्याइएको हो। ३० दिनको सीमित अवधिका लागि लागू गरिएको यस सुविधाबाट लाभ लिन कम्पनीले सम्पूर्ण बीमितहरूलाई आग्रह गरेको छ।
रजत जयन्तीको अवसरमा कम्पनीले पहिलो पटक यति ठूलो परिमाणमा विलम्ब शुल्क छुट योजना ल्याएको हो। कम्पनीका अनुसार, यस्तो सुविधा बीमितले आफ्नो बीमा अवधिभरमा एकपटक मात्र उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहकप्रतिको प्रतिबद्धता दोहोर्याउँदै भने, “नेपाल लाइफले सधैं ग्राहकको विश्वासलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। विभिन्न कारणले बीमालेख व्यतीत हुन सक्छ भन्ने यथार्थलाई ध्यानमा राख्दै, ग्राहकलाई पुनः बीमा सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यो योजना ल्याइएको हो। हामी सम्पूर्ण बीमितहरूलाई यस अवसरको सदुपयोग गर्दै आफ्नो र आफ्नो परिवारको भविष्य सुरक्षित बनाउन आग्रह गर्दछौं।”
देशकै अग्रणी जीवन बीमा कम्पनीका रूपमा स्थापित नेपाल लाइफले करिब ३० प्रतिशतसम्मको बजार हिस्सा ओगटेको बताइएको छ। विगत २५ वर्षदेखि लाखौं नेपाली परिवारको विश्वास जित्दै आएको कम्पनीले देशभरका ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको छ।
कम्पनीका अनुसार हालसम्म एक लाख १५ हजार ६२२ वटा बीमा पोलिसी जारी भइसकेका छन्। लामो समयदेखि निष्क्रिय रहेका बीमालेखहरूलाई पुनः सक्रिय बनाउने रणनीतिअनुसार ल्याइएको यस योजनाबाट ठूलो संख्यामा बीमित लाभान्वित हुने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया