नयाँ स्मार्ट लाइसेन्स अन्तरराष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित : मन्त्रालय
- BFIS News
- 2026 Apr 20 21:32
काठमाडौँ, वैशाख ७ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै हाल लागू गरिएको प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित र व्यावहारिक रहेको जनाएको छ ।
मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षण मुद्रण केन्द्रमार्फत छापिँदै आएको नयाँ स्मार्ट लाइसेन्सको प्राविधिक संरचना, सुरक्षा तह र दीर्घकालीन रणनीतिबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार नयाँ लाइसेन्स ‘आईएसओ ७८१० आइडी–१’ मापदण्डअनुसार तयार गरिएको छ, जसको आकार क्रेडिट कार्डसरह रहेको छ ।
विगतमा प्रयोग गरिएको ‘स्मार्ट चिप’ प्रविधि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेपछि सरकारले नयाँ ढाँचा अपनाएको मन्त्रालयले जनाएको छ । हाल उच्च सुरक्षासहितको कोड इन्क्रिप्टेड, लेयर्ड तथा कपी–प्रोटेक्टेड ‘क्यूआर’ प्रविधि प्रयोग गरिएको छ, जसले इन्टरनेट बिना नै कार्ड प्रमाणीकरण गर्न सकिने व्यवस्था गरेको छ ।
नयाँ स्मार्ट लाइसेन्समा तीन तहमा विभाजित ३९ वटा सुरक्षा विशेषता समावेश गरिएको छ । पहिलो तहमा मेटालिक सिल्भर इंक, मेसिनले पढ्न सक्ने जोन (एमआरजेड) लगायतका संरचना रहेका छन् भने दोस्रो तहमा युभी मसी र इन्फ्रारेड प्रविधि प्रयोग गरिएको छ । तेस्रो तहमा ‘डिजिटल फिंगरप्रिन्ट’ र रसायनिक हस्ताक्षरजस्ता उच्चस्तरीय सुरक्षा संयन्त्र राखिएको मन्त्रालयले जनाएको छ ।
उत्पादन प्रक्रिया ‘एन्ड–टु–एन्ड अफलाइन’ प्रणालीमा सञ्चालन गरिएकाले डेटा सुरक्षामा विशेष ध्यान दिइएको र क्यूआर कोड कार्डको अवधिभर वैध रहने जनाइएको छ ।
यस पहललाई सुरक्षण मुद्रणमा आत्मनिर्भरतातर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । आगामी दिनमा हुलाक टिकट, नागरिकता प्रमाणपत्र, अन्तःशुल्क स्टिकर, लालपुर्जा, भिसा स्टिकर तथा विश्वविद्यालयका प्रमाणपत्रसमेत स्वदेशमै उत्पादन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।
हाल ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छाप्ने व्यवस्था गरिएको छ । त्यस्तै पुराना सबै लाइसेन्स असार मसान्तभित्र छापिसक्ने लक्ष्य राखिएको छ । वैशाख १२ सम्म १२ लाख र असार मसान्तसम्म थप १७ लाख लाइसेन्स छाप्ने तयारी गरिएको केन्द्रले जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)
.jpg)





प्रतिक्रिया