माउन्ट एभरेष्ट पावरको आईपीओ बैशाख १७ देखि खुल्ने, २५.८० लाख कित्ता शेयर जारी
- BFIS News
- 2026 Apr 21 11:52
कम्पनीलाई ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरका २५ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त भएको छ। यसमध्ये ८ करोड ६० लाख रुपैयाँ बराबरका, प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ।
उक्त शेयरमध्ये ३ लाख ४४ हजार कित्ता अति प्रभावित क्षेत्र—सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का बासिन्दाहरूलाई वितरण गरिनेछ। बाँकी ५ लाख १६ हजार कित्ता भने सोही नगरपालिकाका अन्य वडाका स्थायी बासिन्दाहरूका लागि छुट्याइएको छ।
त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् १ करोड ७२ लाख रुपैयाँ बराबरका, प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। यसका लागि सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएको हुनुपर्नेछ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आवेदन छिटोमा बैशाख ३१ गते र ढिलोमा जेठ १८ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन छिटोमा बैशाख २३ गते र ढिलोमा बैशाख ३१ गतेसम्म खुला हुनेछ।
कम्पनीको रेटिङ्गअनुसार, केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख २० हजार ४२ रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत १९ करोड ७४ लाख ४३ हजार ३३६ रुपैयाँ ८३ पैसा रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २८ वर्ष ९ महिना बाँकी छ।
यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष रहेको छ भने छुट दर (डिस्काउन्ट) मा लगानी फिर्ता हुने अवधि ८.९४ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक तथा एनएमबि बैंकका सल्लेरी, सोलुखुम्बुस्थित शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाबाट पनि आवेदन दिन सकिनेछ। शेयर आवेदन फारामका लागि २ रुपैयाँ शुल्क लाग्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालन गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया