सिटिजन्स बैंकको नाफा ३५.८२% वृद्धि, इम्पेयरमेन्ट चार्ज घट्दा प्रतिशेयर आम्दानी ११.२३ रुपैयाँ नाघ्यो
- BFIS News
- 2026 Apr 28 07:11
काठमाडौं । सिटिजन बैंक इन्टरनेश्नलले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो नौ महिनासम्म बैंकले १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ९६ करोड १८ लाख रुपैयाँको तुलनामा ३५.८२ प्रतिशतले बढी हो।
बैंकको खुद ब्याज आम्दानी र फि तथा कमिशन आम्दानीमा सामान्य गिरावट आए पनि इम्पेयरमेन्ट चार्जमा आएको कमीले नाफा वृद्धि भएको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी १.४८ प्रतिशतले घट्दा खुद फि तथा कमिशन आम्दानी पनि २ प्रतिशतले घटेको छ।
यद्यपि, कुल सञ्चालन आम्दानी ३.०६ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ३८.६१ प्रतिशतले वृद्धि भएको छ। विशेषगरी इम्पेयरमेन्ट चार्ज २ अर्ब १६ करोड रुपैयाँबाट घटेर १ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएपछि नाफामा सकारात्मक प्रभाव परेको हो।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि बढेको छ। समीक्षा अवधिमा EPS २ रुपैयाँ ५५ पैसाले बढेर ११ रुपैयाँ २३ पैसा पुगेको छ। तर, चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा भने ५० करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
उक्त अवधिसम्म बैंकको मूल्य आम्दानी अनुपात (P/E) १८.७१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ९९ पैसा कायम भएको छ।
१५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ६८ करोड २३ लाख रुपैयाँ सञ्चित रहेको छ। साथै, बैंकले तेस्रो त्रैमाससम्म २ खर्ब १३ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६९ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया