विकास बैंकहरूको नाफा ४९ प्रतिशतले वृद्धि, ९ महिनामा साढे ५ अर्ब रुपैयाँ नाफा
- BFIS News
- 2026 Apr 28 12:01
काठमाडौं । राष्ट्रियस्तरका आठ विकास बैंकहरूले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमास (साउनदेखि चैत मसान्तसम्म) सम्ममा उल्लेखनीय वित्तीय सुधार गरेका छन्। सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूले यस अवधिमा कुल ५ अर्ब ५० करोड ३५ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
यो नाफा गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा ४९.०४ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा विकास बैंकहरूको कुल नाफा ३ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो।
नाफाका आधारमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ। बैंकले ९ महिनाको अवधिमा १ अर्ब ४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ४२.९१ प्रतिशतले वृद्धि हो। दोस्रो स्थानमा मुक्तिनाथ विकास बैंक रहेको छ, जसको नाफा ३० प्रतिशतले बढेर ९४ करोड २६ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५३.३८ प्रतिशतले वृद्धि गर्दै ७८ करोड ८४ लाख रुपैयाँ, ज्योति विकास बैंकले १०५ प्रतिशतको उच्च वृद्धिसहित ६२ करोड ९४ लाख रुपैयाँ र कामना सेवा विकास बैंकले १९.३७ प्रतिशतले बढेर ५८ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
सर्वाधिक नाफा वृद्धिदर लुम्बिनी विकास बैंकको देखिएको छ। बैंकको नाफा १०२८ प्रतिशतले उछालिँदै ५६ करोड १६ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ११.५९ प्रतिशतले बढेर ४८ करोड ४५ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको ५.३६ प्रतिशतले बढेर ४५ करोड ९९ लाख रुपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानीमा पनि सुधार
यसैबीच, आठै विकास बैंकहरूको खुद ब्याज आम्दानीमा पनि वृद्धि देखिएको छ। यस अवधिमा बैंकहरूले कुल १६ अर्ब ४२ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्, जुन गत वर्षको तुलनामा ६.२४ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा यो आम्दानी १५ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ थियो।
खुद ब्याज आम्दानीका आधारमा मुक्तिनाथ विकास बैंक शीर्ष स्थानमा रहेको छ, जसले ३ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ।
गरिमा विकास बैंकले २ अर्ब ७९ करोड ९८ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २ अर्ब ६ करोड रुपैयाँ, कामना सेवा विकास बैंकले १ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकले १ अर्ब ६३ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्।
त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले १ अर्ब ६१ करोड ७५ लाख रुपैयाँ, ज्योति विकास बैंकले १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले १ अर्ब ४५ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ। वृद्धिदरका आधारमा सांग्रिला विकास बैंक अग्रस्थानमा देखिएको छ, जसको ब्याज आम्दानी १३.१८ प्रतिशतले बढेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया