NIMB Header 2
Nepal Life

नेपाल–भारत सीमामा कडाइपछि रक्सौल बजार सुनसान, वीरगञ्जमा किनमेल बढ्यो

NMB Bank
  • BFIS News
  • 2026 May 01 13:02
नेपाल–भारत सीमामा कडाइपछि रक्सौल बजार सुनसान, वीरगञ्जमा किनमेल बढ्यो
United Ajod

वीरगञ्ज (पर्सा), वैशाख १८ गते । नेपाल–भारत सीमामा गरिएको कडाइका कारण सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली ग्राहकको आवतजावत घटेको छ भने वीरगञ्जसहित नेपाली बजारमा किनमेल गर्ने ग्राहकको संख्या बढेको छ ।

 

Shikhar
Nepal Life
NIMB

सरकारले वैशाख २ गतेदेखि भन्सार नियम कडाइका साथ लागू गर्दै सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था गरेपछि सीमाक्षेत्रको व्यापारिक गतिविधिमा असर परेको हो ।

यसअघि वीरगञ्ज, जीतपुरसिमरा, पथलैया, निजगढ, हेटौँडा, नारायणगढ, पोखरा र काठमाडौँसम्मका उपभोक्ता किनमेलका लागि रक्सौल बजार पुग्ने गरेका थिए । तर अहिले सीमामा कडाइ भएपछि रक्सौल बजार सुनसानजस्तै बनेको छ ।

रक्सौल बजारमा खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स सामग्री, कृषि सामग्री, मल तथा बिउबिजन खरिद गर्न नेपाली उपभोक्ता जाने गरेका थिए । खुला सीमा र कमजोर निगरानीका कारण अनौपचारिक व्यापार र तस्करीसमेत हुने गरेको स्थानीयको भनाइ छ । हाल कडाइपछि यस्ता गतिविधि धेरै हदसम्म नियन्त्रणमा आएको बताइएको छ ।

व्यापारीहरूका अनुसार ग्राहक घट्दा रक्सौल बजारमा आर्थिक मन्दी देखिएको छ भने नेपाली उपभोक्तामा निर्भर व्यवसायहरू प्रभावित भएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क अनिवार्य गर्ने व्यवस्था व्यवहारिक नभएको बताउँदै कार्यान्वयनयोग्य नीति आवश्यक रहेको धारणा राख्नुभयो । उहाँका अनुसार खुला सीमाक्षेत्रका लाखौँ नागरिक व्यापार र ओसारपसारमा निर्भर छन्, त्यसैले वैकल्पिक रोजगारीको व्यवस्था पनि आवश्यक छ ।

उहाँले उपभोग्य वस्तुको मूल्य भारत र नेपालबीच अत्यधिक फरक हुनुको कारण अध्ययन गर्नुपर्ने बताउँदै कर वा भ्याट घटाएर मूल्य अन्तर कम गर्नुपर्ने सुझाव दिनुभयो ।

यता, वीरगञ्जका केही व्यवसायीहरूले भने भन्सार कडाइले स्थानीय बजारमा बिक्री बढेको र वैध कारोबारलाई सहयोग पुगेको प्रतिक्रिया दिएका छन् ।

सशस्त्र प्रहरी बलका अनुसार सबै सामानमा भन्सार शुल्क अनिवार्य नभई व्यापारिक प्रयोजनका सामग्रीमा मात्र कडाइ गरिएको र घरायसी तथा विशेष अवसरका सामग्रीमा सहजीकरण भइरहेको छ ।

यसैबीच, वीरगञ्ज बजारमा सडक विस्तारका क्रममा डोजर चलाइँदा व्यापारिक गतिविधि प्रभावित भएको छ भने धेरै व्यापारी विस्थापित भएका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया