कालंगा हाइड्रोको आईपीओ जेठ ८ देखि सर्वसाधारणका लागि खुल्ने
- BFIS News
- 2026 May 05 11:45
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि जेठ ८ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुलाउने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो। सोमध्ये १४ लाख कित्ता स्थानीय बासिन्दा र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ। साथै, १ लाख ९५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि छुट्याएर बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ।
अब बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो, जसको कुल मूल्य २८ करोड ७० लाख रुपैयाँ हुन्छ। प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएको यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
निष्कासन छिटोमा जेठ १३ गते बन्द हुने छ भने माग अनुसार आवेदन नपरेमा ढिलोमा जेठ २२ गतेसम्म खुला रहनेछ।
आईपीओका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रति मेगावाट लागत २८ करोड ३० लाख रुपैयाँभन्दा बढी रहेको आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २५ वर्ष १ महिना बाँकी रहेको छ।
आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.२९ वर्ष र डिस्काउन्टेड फिर्ता अवधि १८.०१ वर्ष रहेको कम्पनीले जनाएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत ‘सी–आस्बा’ प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया