स्थानीय तहलाई सौर्य उर्जा कम्पनी खोल्नेदेखि शेयर लगानी गर्न सक्ने बाटो खुला
- BFIS News
- 2026 May 08 21:09
काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई कम्पनी दर्ता गर्न तथा विभिन्न कम्पनीहरूको सेयर खरिद गरी लगानी गर्न सक्ने व्यवस्था गरेको छ। स्थानीय तहहरूबाट विशेषगरी सौर्य ऊर्जा लगायत उत्पादनमूलक क्षेत्रमा कम्पनी स्थापना र लगानीसम्बन्धी माग बढ्न थालेपछि कार्यालयले यस्तो व्यवस्था लागू गरेको हो।
कार्यालयद्वारा जारी सूचनाअनुसार अब स्थानीय तहहरूले प्रचलित कानूनको दायराभित्र रही व्यावसायिक क्षेत्रमा लगानी गर्न र कम्पनीको स्वामित्व ग्रहण गर्न सक्नेछन्। यसअघि स्थानीय तहहरूले कम्पनी स्थापना वा निजी क्षेत्रसँग साझेदारीमा लगानी गर्ने विषयमा स्पष्ट कानूनी व्यवस्था नभएको गुनासो उठ्दै आएको थियो।
कम्पनी दर्ता वा सेयर खरिदका लागि भने दुईवटा प्रमुख सर्त तोकिएका छन्। पहिलो, सम्बन्धित स्थानीय तहले कम्पनीमा लगानी गर्ने वा कम्पनी दर्ता गर्ने विषयमा आफ्नै कानून (ऐन वा नियमावली) निर्माण गरी कार्यपालिका वा गाउँ/नगर सभाबाट औपचारिक निर्णय गर्नुपर्नेछ। दोस्रो, सम्पूर्ण प्रक्रिया ‘कम्पनी ऐन, २०६३’ तथा अन्य प्रचलित संघीय कानूनअनुसार सञ्चालन गर्नुपर्नेछ।
विशेषगरी सौर्य ऊर्जा जस्ता उत्पादनमूलक क्षेत्रमा स्थानीय तहको सहभागिता बढाउन यो निर्णय महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। यस व्यवस्थाले स्थानीय तहहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न, स्थानीय स्रोत–साधनको उपयोग गर्न तथा सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमार्फत विकास आयोजना अघि बढाउन थप सहज हुने विश्वास गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया