धितोपत्र बोर्डमा नेतृत्व चयन प्रक्रिया अघि बढ्दै, बजेटअघि नियुक्ति हुने सम्भावना कमजोर
- BFIS News
- 2026 May 17 11:06
काठमाडौं । Nepal Securities Board को अध्यक्ष नियुक्ति प्रक्रिया फेरि सक्रिय बनेको छ ।
छनोट समितिको नेतृत्व परिवर्तनपछि सोमबार पहिलो बैठक बस्ने तयारी गरिएको भए पनि आगामी जेठ १५ अघि नयाँ अध्यक्ष नियुक्त हुने सम्भावना भने कम देखिएको छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गुणाकर भट्टले स्वार्थ बाझिने कारण देखाउँदै पदबाट अलग भएपछि अध्यक्ष छनोट समितिको संयोजकको जिम्मेवारी योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्यले सम्हालेका छन् । नयाँ संयोजक नियुक्त भएसँगै समितिको बैठक आह्वान गरिएको हो ।
समितिमा अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा विज्ञ सदस्यका रूपमा Nepal Bankers' Association का पूर्वअध्यक्ष भुवनकुमार दाहाल रहेका छन् । स्रोतका अनुसार बैठकमा अध्यक्ष पदका लागि परेका ४७ आवेदनमध्येबाट प्रारम्भिक छनोट सूची तयार गर्ने विषयमा छलफल हुनेछ ।
यद्यपि, अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा केन्द्रित रहेकाले नियुक्ति प्रक्रिया तत्काल टुंगिने सम्भावना न्यून देखिएको छ । अध्यक्ष नियुक्तिका लागि पहिलो चरणमा पाँच जनाको संक्षिप्त सूची तयार गर्नुपर्ने, त्यसपछि अन्तर्वार्ता लिएर तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने कानुनी प्रक्रिया बाँकी छ ।
अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार बजेट तयारी अहिले मन्त्रालयको प्राथमिकतामा रहेकाले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रस्ताव जेठ १५ पछि मात्रै मन्त्रिपरिषद्मा पुग्ने अवस्था देखिएको छ ।
आवेदकहरूको नाम मन्त्रालयले औपचारिक रूपमा सार्वजनिक नगरे पनि विभिन्न प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा रहेको चर्चा छ । आकांक्षीहरूमा Nepal Rastra Bank का डेपुटी गभर्नर बमबहादुर मिश्र, पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, डा. गोपाल भट्ट, बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, Nepal Stock Exchange का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की लगायतका नाम चर्चामा रहेका छन् ।
कानुनी व्यवस्थाअनुसार छनोट समितिले अन्तिम रूपमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई चार वर्षका लागि बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।
धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्वविहीन रहँदा प्राथमिक शेयर निष्कासन, हकप्रद शेयर स्वीकृति लगायतका विभिन्न निर्णय प्रभावित भएको भन्दै पूँजी बजारका सरोकारवालाले चासो व्यक्त गर्दै आएका छन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया