नेपाल बीमा प्राधिकरण अध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान, कडा योग्यता र अयोग्यता मापदण्ड तोकियो
- BFIS News
- 2026 May 27 12:14
काठमाडौं । नेपाल बीमा प्राधिकरण को रिक्त अध्यक्ष पदपूर्तिका लागि प्रक्रिया सुरु गरिएको छ।
पदपूर्तिका लागि गठित सिफारिस समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको हो।
बीमा ऐन, २०७९ कार्यान्वयनपछि प्राधिकरणको नेतृत्व चयनलाई थप व्यवस्थित बनाउन सरकारले कडा शैक्षिक योग्यता, व्यवस्थापकीय अनुभव र नैतिक मापदण्डहरू निर्धारण गरेको छ। आवेदन दिन इच्छुक उम्मेदवारले २०८१ जेठ १९ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन तथा बायोडाटा बुझाउनुपर्नेछ।
शैक्षिक योग्यता र अनुभव अनिवार्य
सूचनाअनुसार अध्यक्ष पदका लागि कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण भएको हुनुपर्नेछ। उम्मेदवारले बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानूनमध्ये कुनै एक विषयमा अध्ययन गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।
साथै सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव अनिवार्य गरिएको छ। आवेदन दिने मितिसम्म उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। पदका लागि उच्च नैतिक चरित्र पनि आवश्यक सर्तका रूपमा राखिएको छ।
अयोग्यताका विस्तृत मापदण्ड
सूचनामा स्वार्थको द्वन्द्व रोक्ने उद्देश्यसहित अयोग्यता सम्बन्धी कडा प्रावधानहरू उल्लेख गरिएको छ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबार वा नैतिक पतन हुने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति अयोग्य हुनेछ।
त्यस्तै, कालोसूचीमा परेर फुकुवा भएको तीन वर्ष नपुगेको, विदेशी मुलुकको स्थायी आवासीय अनुमति (PR/DV) प्राप्त गरेको, मानसिक सन्तुलन ठीक नभएको वा दामासाहीमा परेको व्यक्ति पनि आवेदन दिन नपाउने व्यवस्था छ।
सार्वजनिक ठेक्का वा सम्झौतामा संलग्न रहेको, राजनीतिक दलको सदस्य रहेको वा प्राधिकरणसँग कुनै निजी स्वार्थ तथा व्यावसायिक सम्बन्ध भएको व्यक्ति पनि अयोग्य मानिनेछ।
स्वार्थको द्वन्द्व रोक्ने थप व्यवस्था
आवेदकले स्वघोषणा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यसअनुसार कुनै बीमा कम्पनीमा कर्मचारी, सञ्चालक वा परामर्शदाताका रूपमा कार्यरत व्यक्ति आवेदन दिन नपाउने व्यवस्था छ। त्यस्तै, बीमकको उच्च व्यवस्थापकीय पदबाट हटेको अवस्थामा कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ।
उम्मेदवारका एकाघर परिवारका सदस्यको बीमा कम्पनीमा आधारभूत शेयर स्वामित्व वा वित्तीय स्वार्थ भए पनि अयोग्यता लागू हुने सूचनामा उल्लेख छ।
छनोट प्रक्रिया
प्राप्त आवेदनहरू सिफारिस समितिले मूल्याङ्कन गर्नेछ। योग्य उम्मेदवारहरूको छोटो सूची तयार गरी तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरिनेछ। मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई चार वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)
.jpg)
.jpg)






प्रतिक्रिया