दुर्गा प्रसाईंद्वारा बजेटको आलोचना, स्वास्थ्य–शिक्षामा भ्याट लगाउने निर्णयप्रति असन्तुष्टि
- BFIS News
- 2026 May 31 10:00
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असन्तुष्टि जनाउँदै स्वास्थ्य र शिक्षा क्षेत्रमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयको विरोध गरेका छन्।
शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले बजेटले निजी क्षेत्रलाई निरुत्साहित गर्ने र सीमित वर्गलाई मात्र लाभ पुग्ने दाबी गरे।
पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले अस्पताल तथा शैक्षिक संस्थामा भ्याट लगाउने निर्णयले सेवा प्रदायक संस्थामाथि अतिरिक्त भार पर्ने बताए। उनले आफू संलग्न संस्थाहरूबाट केही बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै यस्ता क्षेत्रमा करको भार बढाउनु उपयुक्त नहुने धारणा व्यक्त गरे।
उनले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आकस्मिकबाहेकका सेवामा गरिएको व्यवस्थाप्रति पनि असन्तुष्टि जनाए। साथै, सुरक्षाकर्मी र निजामती कर्मचारीको तलब वृद्धिलाई अपर्याप्त भएको टिप्पणी गरे।
देशको आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै प्रसाईंले बजेटको आकार र राज्यको आम्दानीबीच सन्तुलनको विषयमा प्रश्न उठाए। उनले सरकारको राजस्व संकलन क्षमता, सार्वजनिक खर्च व्यवस्थापन तथा समग्र आर्थिक नीतिमाथि समेत आलोचनात्मक धारणा राखे।
यसक्रममा उनले भूमिहीन तथा विपन्न नागरिकसँग सम्बन्धित सरकारी कदमहरूप्रति पनि असन्तुष्टि व्यक्त गरे। सार्वजनिक जग्गा तथा खोला किनार क्षेत्रमा बसोबास गर्दै आएका नागरिकहरूको बासस्थान हटाउने कार्यप्रति उनले आलोचना गरे।
प्रसाईंले सरकारले ल्याएको बजेट व्यावहारिक आर्थिक चुनौती समाधान गर्न पर्याप्त नभएको दाबी गर्दै निजी क्षेत्रको भूमिका र योगदानलाई थप प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याए।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया