इलाममा आइएमई लाइफको बीमित सम्मान तथा चियापान कार्यक्रम सम्पन्न
- BFIS News
- 2026 Jun 01 12:49
काठमाडौं, जेठ १८ — IME Life Insurance ले इलाममा आयोजना गरेको ‘बीमित सम्मान तथा चियापान कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। एमडीआरटी रामबहादुर मगर (ब्ल्याक डायमण्ड ग्रुप) को आयोजनामा सम्पन्न कार्यक्रममा १०२ जना बीमितलाई मायाको चिनोसहित सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि आइएमई लाइफका कोशी प्रदेश प्रमुख मिलन दाहालले जीवन बीमाको आवश्यकता र महत्वबारे प्रकाश पार्दै बीमा भविष्यलाई सुरक्षित बनाउने प्रभावकारी माध्यम भएको बताउनुभयो। बदलिँदो आर्थिक तथा सामाजिक परिवेशमा जीवन बीमाको महत्व अझ बढ्दै गएको उहाँको भनाइ थियो।
त्यसैगरी, विशिष्ट अतिथिका रूपमा सहभागी एमडीआरटी नेपालका शीर्ष नेतृत्वले जीवन बीमाबाट प्राप्त हुने लाभ तथा वर्तमान परिस्थितिमा यसको आवश्यकता सम्बन्धी जानकारी दिनुभएको थियो। उहाँको प्रस्तुतिले सहभागीहरूलाई जीवन बीमाप्रति थप सचेत र प्रेरित बनाएको आयोजकले जनाएको छ।
कार्यक्रमका सभाध्यक्ष तथा एमडीआरटी रामबहादुर मगरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रममा आइएमई लाइफको इतिहासकै पहिलो एमडीआरटी मीना गुरुङको विशेष उपस्थिति रहेको थियो।
बीमा अभियन्ता, अभिकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सम्मान, अनुभव आदानप्रदान तथा चियापानका कार्यक्रमसमेत आयोजना गरिएको थियो। आयोजकका अनुसार कार्यक्रमले जीवन बीमाप्रति सकारात्मक सोच, जागरण र वित्तीय सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया