दाङमा टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु, आमा घाइते
- BFIS News
- 2026 Jun 01 13:22
घोराही (दाङ), जेठ १८ — दाङको तुलसीपुर उपमहानगरपालिका–५, गुल्मचोकमा सोमबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको छ।
मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उहाँका ५ वर्षीय छोरा मिनराज नेपाली रहेका छन्। दुर्घटनामा गम्भीर घाइते दुवैलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो।
दुर्घटनामा मनोजकी श्रीमती ३४ वर्षीया अमृता पाली घाइते हुनुभएको छ। उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब ६ बजे तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत गुल्मचोकमा रा.१ ख. २१९२ नम्बरको टिप्परले रा.४ प. ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
घटनापछि गम्भीर घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो, त्यसपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो।
टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया