नेपालमा डिजिटल भुक्तानीसँगै बढ्दै साइबर ठगी, ९ महिनामै करिब ४५ करोड रुपैयाँ हानि
- BFIS News
- 2026 Jun 02 12:52
काठमाडौँ । नेपालमा डिजिटल भुक्तानी प्रणाली तीव्र रूपमा विस्तार भइरहेका बेला अनलाइन ठगीका घटनामा पनि उल्लेखनीय वृद्धि भएको छ। बैंक तथा डिजिटल वालेटमार्फत हुने कारोबार बढेसँगै साइबर अपराधीहरूको गतिविधि समेत खतरनाक रूपमा फैलिएको देखिएको छ।
नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा मात्रै अनलाइन माध्यमबाट करिब ४४ करोड ८८ लाख ९५ हजार रुपैयाँ बराबरको ठगी भएको छ। यसमध्ये सबैभन्दा ठूलो हिस्सा मोबाइल बैंकिङ र डिजिटल वालेटमार्फत भएको देखिएको छ।
प्रहरीका अनुसार सो अवधिमा मोबाइल बैंकिङ र वालेटमार्फत मात्रै २५ करोड ७२ लाख १४ हजार ९१८ रुपैयाँ ठगी भएको छ। ईसेवा, फोनपे, खल्तीलगायतका डिजिटल वालेटमार्फत २३ करोड ९७ लाख २० हजार रुपैयाँ र अनलाइन बैंकिङमार्फत १ करोड ७४ लाख ९४ हजार रुपैयाँ ठगी भएको तथ्यांकमा उल्लेख छ।
डिजिटल कारोबार विस्तारसँगै फिसिङ लिंक, नक्कली अफर, ओटीपी माग्ने, क्यूआर कोड स्क्यान गराउने, तथा बैंक कर्मचारीको नक्कली परिचय प्रयोग गर्ने जस्ता माध्यमबाट ठगी बढिरहेको प्रहरीले जनाएको छ।
ठगीका घटनामा अपराधीहरूले बैंक वा वालेट कम्पनीका प्रतिनिधि बनेर प्रयोगकर्तासँग गोप्य विवरण माग्ने, केवाईसी अपडेटको बहाना बनाउने र आकर्षक उपहारको प्रलोभन दिने गरेको देखिएको छ।
डिजिटल भुक्तानी कम्पनीहरूको लोगो र नाम दुरुपयोग गरेर नक्कली सामाजिक सञ्जाल पेजमार्फत समेत ठगी भइरहेको छ। यसले सर्वसाधारण प्रयोगकर्तालाई झुक्याएर रकम ठगी गर्ने क्रम बढाएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय साक्षरता विस्तार गर्दै साइबर सुरक्षाबारे जनचेतना बढाउने प्रयास भइरहेको छ। तर व्यवहारिक रूपमा ग्रामीण क्षेत्र र प्रविधिमा कम पहुँच भएका वर्गसम्म प्रभावकारी सन्देश पुग्न नसकेको गुनासो समेत उठ्दै आएको छ।
विशेषज्ञहरूले डिजिटल कारोबारसँगै सुरक्षा सतर्कता नअपनाए ठगीको जोखिम अझै बढ्न सक्ने चेतावनी दिएका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया