NIMB Header 2
Nepal Life

पर्यटन पूर्वाधार सुदृढ भए ठूलो लगानी भित्रिने सम्भावना : हान अध्यक्ष शाह

IME LIFE
  • BFIS News
  • 2026 Jun 03 10:15
पर्यटन पूर्वाधार सुदृढ भए ठूलो लगानी भित्रिने सम्भावना : हान अध्यक्ष शाह
United Ajod

काठमाडौं । पर्यटन क्षेत्रको दिगो विकासका लागि हवाई तथा सडक पूर्वाधारमा सुधार आवश्यक रहेको भन्दै होटल व्यवसायीहरूले सरकारलाई कार्यान्वयनमा केन्द्रित हुन आग्रह गरेका छन्।

Nepal Life
NIMB

होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले आगामी आर्थिक वर्षको बजेटले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै पूर्वाधार विस्तार र नीतिगत सुधारले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न सक्ने बताएका छन्।

अध्यक्ष शाहका अनुसार हाल नेपालको होटल तथा आतिथ्य उद्योगले वार्षिक करिब ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता विकास गरिसकेको छ। तर, पर्यटक आगमन भने अझै १२ लाखको हाराहारीमा सीमित रहेको उनले बताए। उनका अनुसार क्षमता र वास्तविक उपयोगबीचको अन्तरको प्रमुख कारण कमजोर हवाई तथा स्थल सम्पर्क सञ्जाल हो।

उनले विशेषगरी भारत र चीनजस्ता विशाल बजारसँगको हवाई सम्पर्क विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने बताए। साथै, सीमावर्ती नाकाहरूबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि सहज व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

सरकारले विक्रम संवत् २०८५ लाई नेपाल भ्रमण वर्ष र सन् २०२७ लाई आरोग्य वर्षका रूपमा प्रवर्द्धन गर्ने घोषणा गरेको सन्दर्भमा शाहले यसलाई पर्यटन प्रवर्द्धनका लागि सकारात्मक पहलको रूपमा व्याख्या गरेका छन्। स्वास्थ्य, योग, ध्यान तथा प्राकृतिक उपचारसँग सम्बन्धित पर्यटन गतिविधिमा नेपालले विशेष अवसर प्राप्त गर्न सक्ने उनको धारणा छ।

पर्यटक आगमन वृद्धि मात्र नभई उनीहरूको बसाइ अवधि र खर्च बढाउन पनि नयाँ पर्यटकीय गन्तव्यहरूको विकास आवश्यक रहेको शाहले बताए। उनले मध्यपहाडी क्षेत्र, हिमाली भूभाग तथा तराईका विभिन्न स्थानमा पर्यटन पूर्वाधार विस्तार गर्ने सरकारी योजनालाई सकारात्मक कदमको रूपमा लिएका छन्।

होटल व्यवसायलाई उत्पादनमूलक उद्योगको मान्यता दिइए पनि उद्योगसरहका सुविधा प्राप्त नभएको गुनासो उनले गरे। विशेषगरी विद्युत् महसुलमा व्यावसायिक दर लाग्दै आएको र विद्युत् उपभोगमा मूल्य अभिवृद्धि कर लागेकाले सञ्चालन लागत बढेको उनको भनाइ छ।

शाहले औपचारिक रूपमा दर्ता भई कर तिर्ने व्यवसाय र अनौपचारिक रूपमा सञ्चालित आवास सेवाबीच प्रतिस्पर्धाको असन्तुलन रहेको उल्लेख गर्दै होमस्टे, बी एन्ड बी तथा अन्य सशुल्क आवास सेवाहरूलाई प्रभावकारी नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारले पहिले घोषणा गरेको ‘देश दर्शन’ कार्यक्रम पुनः सञ्चालन गर्नुपर्ने सुझाव पनि उनले दिएका छन्। यस्तो कार्यक्रमले आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने उनको विश्वास छ।

बजेट कार्यान्वयनको पक्षमा जोड दिँदै शाहले घोषणा गरिएका कार्यक्रमहरूको नियमित समीक्षा हुनुपर्ने बताए। उनका अनुसार विगतमा धेरै कार्यक्रम बजेटमा समेटिए पनि कार्यान्वयनको प्रगति मूल्याङ्कन हुने परिपाटी कमजोर रहेको छ।

हवाई सम्पर्क विस्तारका लागि राष्ट्रिय ध्वजावाहकको क्षमता अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै उनले नेपाल एयरलाइन्सको जहाज संख्या बढाउनुपर्ने बताए। साथै, नेपाली वायुसेवा क्षेत्रलाई युरोपेली सङ्घको कालोसूचीबाट हटाउन सरकारले थप पहल गर्नुपर्ने धारणा पनि व्यक्त गरे।

सरकारले कर्पोरेट करको दर घटाउनुका साथै व्यक्तिगत आयकरको सीमा विस्तार गरेको विषयलाई उनले लगानीमैत्री कदमका रूपमा व्याख्या गरे। यस्ता नीतिले स्वदेशी र विदेशी लगानीकर्ताको विश्वास बढाउन सहयोग पुग्ने उनको भनाइ छ।

अध्यक्ष शाहले पर्यटन क्षेत्रले कृषि, यातायात, बैंकिङ, दूरसञ्चारलगायत विभिन्न क्षेत्रमा प्रत्यक्ष आर्थिक प्रभाव पार्ने उल्लेख गर्दै आगामी पाँच वर्षभित्र ५० लाखसम्म पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको बताए। त्यसका लागि पूर्वाधार विकास, सहज हवाई पहुँच र बजेटमा घोषणा भएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनको निष्कर्ष छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया