NIMB Header 2
Nepal Life

नेपाल–भारत सम्बन्ध सुदृढ गर्न तीन बुँदे संयुक्त घोषणा, मन्त्री शिशिर खनाल र जयशंकरबीच भेटवार्ता

IME LIFE
  • BFIS News
  • 2026 Jun 07 11:26
नेपाल–भारत सम्बन्ध सुदृढ गर्न तीन बुँदे संयुक्त घोषणा, मन्त्री शिशिर खनाल र जयशंकरबीच भेटवार्ता
United Ajod

काठमाडौँ । नयाँ दिल्लीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच शनिबार साँझ भएको भेटवार्तापछि नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित तीन बुँदे संयुक्त घोषणा जारी गरिएको छ।

 

Nepal Life
NIMB

भेटवार्ताका क्रममा दुवै पक्षबीच व्यापार तथा आर्थिक सहयोगका विविध विषयमा विस्तृत छलफल भएको थियो। साथै सीमापार सम्पर्क विस्तार, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा खेलकुदमार्फत दुई देशका जनताबीचको सम्बन्धलाई अझ सघन बनाउने विषयमा पनि विचार आदानप्रदान भएको जनाइएको छ।

द्विपक्षीय वार्तापछि जारी गरिएको घोषणालाई मन्त्री खनालसँग भएको फलदायी छलफलको निरन्तरताका रूपमा भारतले व्याख्या गरेको छ। घोषणाको पहिलो बुँदाअन्तर्गत २०७२ सालको विनाशकारी भूकम्पपछि भारतको सहयोगमा निर्माण गरिएका ७२ वटा स्वास्थ्य संस्था र १२ वटा सांस्कृतिक सम्पदा परियोजना नेपाललाई हस्तान्तरण गरिएको छ। नयाँ दिल्लीबाट भर्चुअल माध्यममार्फत ती संरचनाहरूको औपचारिक हस्तान्तरण सम्पन्न भएको हो।

घोषणाको दोस्रो बुँदामा सीमापार व्यक्तिगत विप्रेषणलाई सहज र प्रभावकारी बनाउने सहमति गरिएको छ। यसका लागि भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (NPI) बीचको अन्तरआबद्धता संयुक्त रूपमा प्रारम्भ गरिएको जनाइएको छ। यस कदमले दुई देशबीच हुने डिजिटल भुक्तानी तथा रेमिट्यान्स कारोबारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी तेस्रो बुँदाअन्तर्गत भारतको डिजिटल इन्डिया भाषिनी कार्यक्रम र काठमाडौँ विश्वविद्यालयबीच समझदारीपत्र आदानप्रदान गरिएको छ। नेपालका लागि ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्ने उद्देश्यले उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। समझदारीपत्र आदानप्रदान कार्यक्रममा दुवै देशका विदेशमन्त्री साक्षीका रूपमा सहभागी भएका थिए।

भारत भ्रमणका क्रममा मन्त्री खनालले भारतीय सरकारका विभिन्न उच्च अधिकारीसँग समेत भेटवार्ता गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया