NIMB Header 2
Nepal Life

बजेटको प्रभावकारी कार्यसम्पादन र सन्तुलित मौद्रिक नीतिमार्फत नतिजामुखी आर्थिक विकासमा जोड

IME LIFE
  • BFIS News
  • 2026 Jun 07 13:01
बजेटको प्रभावकारी कार्यसम्पादन र सन्तुलित मौद्रिक नीतिमार्फत नतिजामुखी आर्थिक विकासमा जोड
United Ajod

काठमाडौं । नेपाल व्यवस्थापन संघ (MAN) ले आर्थिक वर्ष २०८३/८४ को बजेटको समीक्षा तथा आगामी मौद्रिक नीतिका लागि सुझाव संकलन गर्ने उद्देश्यले आयोजना गरेको “Post-Budget Analysis & Pre-Monetary Policy Discussion” विशेष अन्तर्क्रिया कार्यक्रम काठमाडौंको लाजिम्पाटस्थित होटल रेडिसनमा सम्पन्न भएको छ।

Nepal Life
NIMB

संघकी अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशका प्रतिष्ठित अर्थविद्, पूर्व अर्थमन्त्री, नीति निर्माता, बैंकर तथा व्यवस्थापकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई दुई विशेष सत्रमा विभाजन गरिएको थियो।

बजेटको समीक्षा र संरचनागत सुधारमा जोड

कार्यक्रमको पहिलो सत्र “Post-Budget Panel Discussion” मा संघका कार्यकारी सदस्य जीवन कुमार कटुवालले स्वागत मन्तव्य व्यक्त गर्दै बजेटका सकारात्मक तथा दीर्घकालीन प्रभावका विषयमा धारणा राखेका थिए। संघका द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले सहजीकरण गरेको छलफलमा पूर्व अर्थमन्त्रीहरू प्रकाश शरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन तथा प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय कोषाध्यक्ष सुमना श्रेष्ठ सहभागी थिए।

छलफलका क्रममा बजेटको आकार, राजस्व संकलनको लक्ष्य तथा पुँजीगत खर्च वृद्धि गर्न आवश्यक संरचनागत सुधारका उपायबारे विस्तृत समीक्षा गरिएको थियो। साथै, नीतिगत निरन्तरता कायम गर्दै उद्योगमैत्री वातावरण निर्माणका लागि संसद् र सरकारले खेल्नुपर्ने भूमिकामाथि विशेष जोड दिइएको थियो।

खुला छलफल सत्रमा सहभागीहरूले बजेट कार्यान्वयन प्रक्रिया, निजी क्षेत्रमाथि यसको प्रभाव तथा आवश्यक नीतिगत सुधारसम्बन्धी सुझाव प्रस्तुत गरेका थिए।

वित्तीय स्थायित्व र आर्थिक वृद्धिलाई सघाउने मौद्रिक नीतिमा बहस

कार्यक्रमको दोस्रो सत्र “Pre-Monetary Policy Discussion” वित्तीय क्षेत्रको स्थायित्व र आर्थिक वृद्धिलाई सघाउने मौद्रिक रणनीतिमा केन्द्रित रहेको थियो। सत्रको सुरुआतमा संघका महासचिव इन्द्र कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश श्रेष्ठ ले कार्यपत्र प्रस्तुत गर्दै वर्तमान आर्थिक परिसूचकहरूको विश्लेषण तथा आगामी मौद्रिक नीतिको सम्भावित कार्यदिशाबारे प्रकाश पारे। उक्त कार्यपत्रमाथि आर्थिक विज्ञ तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नर बहादुर थापा र वरिष्ठ बैंकर तथा वित्तीय विश्लेषक अनल राज भट्टराई ले टिप्पणी गर्दै बजारमा तरलता व्यवस्थापन, कर्जा प्रवाह र ब्याजदर सन्तुलनका विषयमा आफ्ना धारणा राखेका थिए।

‘लक्ष्यभन्दा कार्यसम्पादन महत्त्वपूर्ण’

कार्यक्रममा सहभागी विज्ञहरूले नेपालको अर्थतन्त्रमा समस्या लक्ष्य निर्धारणमा नभई कार्यसम्पादनमा रहेको निष्कर्ष प्रस्तुत गरेका थिए। उनीहरूले लक्ष्य र समयसीमा स्पष्ट भए पनि निर्धारित अवधिमा कार्यान्वयन हुन नसक्दा अपेक्षित नतिजा प्राप्त हुन नसकेको उल्लेख गर्दै अब नीतिगत घोषणाभन्दा प्रभावकारी कार्यान्वयन र परिणाममुखी काममा केन्द्रित हुनुपर्नेमा जोड दिए।

राष्ट्र बैंकले सुझावलाई गम्भीरतापूर्वक मनन गर्ने

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित ले आगामी मौद्रिक नीति सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्ने तथा वित्तीय स्थायित्व कायम रहने गरी तर्जुमा गरिने विश्वास व्यक्त गरे। उनले कार्यक्रममा आएका प्राविधिक तथा व्यावहारिक सुझावहरूलाई राष्ट्र बैंकले गम्भीरतापूर्वक अध्ययन गर्ने प्रतिबद्धता समेत जनाए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष हेमा कुमारी अधिकारीले योजना निर्माण मात्र पर्याप्त नहुने उल्लेख गर्दै बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि दरिलो कार्यसम्पादन क्षमता अपरिहार्य रहेको बताइन्। उनले कार्यक्रमबाट प्राप्त सुझावहरूलाई समेटेर विस्तृत प्रतिवेदन तयार पारिने र सो प्रतिवेदन नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक समक्ष औपचारिक रूपमा पेस गरिने जानकारी दिइन्।

नेपाल व्यवस्थापन संघले आयोजना गरेको उक्त अन्तर्क्रिया कार्यक्रमले बजेट कार्यान्वयनको प्रभावकारिता, वित्तीय स्थायित्व र नतिजामुखी आर्थिक विकासका लागि आवश्यक नीति तथा कार्यसम्पादन सुधारका विषयमा महत्वपूर्ण बहस र सुझावहरू अघि सारेको आयोजकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया