NIMB Header 2
Nepal Life

धितोपत्र बोर्ड ३४औँ वर्षमा प्रवेश, पूँजी बजार विस्तारका लागि नयाँ प्राथमिकता सार्वजनिक

IME LIFE
  • BFIS News
  • 2026 Jun 08 15:17
धितोपत्र बोर्ड ३४औँ वर्षमा प्रवेश, पूँजी बजार विस्तारका लागि नयाँ प्राथमिकता सार्वजनिक
United Ajod

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) स्थापना भएको ३३ वर्ष पूरा गरी ३४औँ वर्षमा प्रवेश गरेको अवसरमा बोर्डले पूँजी बजारको दायरा विस्तार र संस्थागत सुधारलाई केन्द्रमा राख्दै आगामी कार्यदिशा सार्वजनिक गरेको छ।

Nepal Life
NIMB

बोर्डका अध्यक्ष उत्तरकुमार खत्रीले जारी गरेको प्रतिबद्धता पत्रमा दीर्घकालीन पूँजी निर्माण, संस्थागत लगानीकर्ता विस्तार तथा नियामकीय सुधारलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।

प्रतिबद्धता पत्रअनुसार बोर्डले ऋणपत्र, बण्ड तथा पूर्वाधार बण्ड बजारको विकासमार्फत दीर्घकालीन लगानीको आधार बलियो बनाउने लक्ष्य लिएको छ। साथै, पेन्सन कोष, बीमा कम्पनी, म्युचुअल फण्ड तथा गैरआवासीय नेपाली (एनआरएन) को शेयर बजारमा सहभागिता बढाउन आवश्यक नीतिगत तथा संरचनागत पहल गरिने जनाइएको छ।

अध्यक्ष खत्रीले धितोपत्र सम्बन्धी ऐन, २०६३ ले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही पूँजी बजारलाई थप विश्वसनीय, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पूँजी बजार सुधारका लागि विगतमा गठित विभिन्न आयोग तथा कार्यदलहरूले दिएका सुझावहरू क्रमिक रूपमा कार्यान्वयन गरिने पनि उनले उल्लेख गरेका छन्।

बोर्डले धितोपत्र नियमन प्रणाली, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा सीडीएस एण्ड क्लियरिङ प्रणालीको पुनर्संरचनासहित संस्थागत सुधारका कार्यक्रम अघि बढाउने जनाएको छ। नियामकीय क्षमता अभिवृद्धि, प्रविधिमैत्री सेवा विस्तार, लगानीकर्ता संरक्षण, सुशासन प्रवर्द्धन तथा बजारसम्बन्धी कसूरहरूको अनुसन्धान र कारबाहीलाई समेत आगामी प्राथमिकतामा राखिएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचीकृत कम्पनीको धितोपत्र बिक्रीमा लाग्ने पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने व्यवस्थाले बजार गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा बोर्डले गरेको छ।

त्यसैगरी, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रियालाई थप पारदर्शी र निष्पक्ष बनाउन कानुनी तथा संरचनागत सुधार गरिने उल्लेख गरिएको छ। साना तथा मझौला उद्यमका लागि छुट्टै ‘एसएमई प्लेटफर्म’ स्थापना गर्ने, वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनमा ल्याउने तथा आवश्यक पूर्वाधार विकास गर्ने योजनासमेत सार्वजनिक गरिएको छ।

बोर्डले बजार सञ्चालक संस्थाहरूको संरचनागत सुधार, बजार सहभागीहरूको व्यावसायिक क्षमता अभिवृद्धि तथा देशभर लगानीकर्ता शिक्षा र वित्तीय सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। साथै, अन्तर्राष्ट्रिय धितोपत्र बोर्ड संगठन (आईओएसको) का मापदण्ड र अभ्यासलाई अवलम्बन गर्दै नियमन प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरअनुकूल बनाउने लक्ष्य राखिएको छ।

प्रतिबद्धता पत्रमा सरकारको नीति तथा कार्यक्रम, आवधिक योजना र बजेटमा उल्लेखित पूँजी बजारसम्बन्धी लक्ष्यहरूको कार्यान्वयनमा बोर्ड सक्रिय रहने उल्लेख गरिएको छ। साथै, बजार विकासका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन सरकार, वित्तीय क्षेत्रका नियामक निकाय, अन्तर्राष्ट्रिय संस्थाहरू तथा अन्य सरोकारवालाको सहकार्य आवश्यक रहेको बोर्डले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया