संशोधित विधान अर्को कार्यकालदेखि मात्र लागू हुन्छ, वर्तमान निर्वाचन पुरानै व्यवस्थाअनुसार
- BFIS News
- 2026 Jun 09 13:20
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले संस्थाको विधान संशोधन प्रक्रिया अगाडि बढे पनि आगामी निर्वाचन हाल कायम रहेको विधानअनुसार नै हुने बताएका छन्।
डाँगीका अनुसार इप्पानको साधारण सभा सम्पन्न भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ। उनले विधान संशोधनको विषयमा संस्थाभित्र बहस भइरहे पनि संशोधित व्यवस्था तत्काल लागू नहुने स्पष्ट पारे।
उनले भने, “विधान संशोधन भए पनि त्यसको कार्यान्वयन अर्को कार्यकालदेखि मात्रै हुन्छ। मेरो कार्यकालसम्म अहिलेको विधानअनुसार नै काम हुन्छ, त्यसपछि निर्वाचित हुने नेतृत्वले संशोधित विधानअनुसार काम गर्नेछ।”
विधान संशोधनलाई यही साधारण सभाबाट पारित गरी सोही आधारमा निर्वाचन गराउनुपर्ने धारणा केही पक्षले राख्दै आएको सन्दर्भमा डाँगीले यस्तो प्रक्रिया कानुनी रूपमा सम्भव नभएको दाबी गरे। उनका अनुसार साधारण सभाबाट पारित भएको संशोधन तत्काल प्रभावकारी नहुने र त्यसलाई जिल्ला प्रशासन कार्यालयमार्फत आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ।
“साधारण सभाबाट पास भयो भन्दैमा प्रशासन कार्यालयले तुरुन्त स्वीकृत गरिदिन्छ भन्ने हुँदैन। आवश्यक सुधार तथा प्रक्रियापछि मात्रै स्वीकृति प्राप्त हुन्छ, जसमा केही महिना लाग्न सक्छ,” उनले भने।
उनले साधारण सभा सम्पन्न भएको केही समयमै निर्वाचन गर्नुपर्ने भएकाले संशोधित विधानको आधारमा तत्काल निर्वाचन गराउने प्रस्ताव व्यवहारिक तथा कानुनी रूपमा उपयुक्त नरहेको बताए।
इप्पानभित्र देखिएको मतभेदबारे धेरै टिप्पणी गर्न नचाहेको उल्लेख गर्दै डाँगीले निर्वाचनपछि सबै पक्ष मिलेर संस्थालाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले संस्थामा लामो समयदेखि आबद्ध र नेतृत्व तहमा काम गरिसकेका व्यक्तिहरूले कानुनी रूपमा कार्यान्वयन हुन नसक्ने विषयलाई लिएर सदस्यहरूलाई भ्रममा पार्ने काम गर्न नहुने धारणा व्यक्त गरे।
डाँगीका अनुसार संस्थाले निर्वाचन प्रक्रिया, विधान संशोधन तथा नवीकरणसम्बन्धी विषयमा कानुनी परामर्शसमेत लिइसकेको छ। प्राप्त रायका आधारमा निर्वाचन निर्धारित प्रक्रियाअनुसार गर्न कुनै कानुनी अवरोध नरहेको निष्कर्ष निकालिएको उनले बताए।
उनले गत वर्ष संस्थाको नवीकरण प्रक्रियामा ढिलाइ भएको अनुभव उल्लेख गर्दै यसपटक समयमै नवीकरण सम्पन्न गर्नुपर्ने आवश्यकता पनि रहेको बताए। सोही कारण निर्वाचनको तयारीलाई प्राथमिकताका साथ अगाडि बढाइएको उनको भनाइ छ।
विधान संशोधनका प्रस्तावहरूमध्ये एक कार्यकाल पदाधिकारी वा कार्यसमिति सदस्य भइसकेको व्यक्ति अध्यक्ष पदमा उम्मेदवार बन्न सक्ने व्यवस्था समावेश गरिएको डाँगीले जानकारी दिए। उक्त प्रस्ताव कार्यसमितिबाट पारित भइसकेको र साधारण सभाबाट अनुमोदन भए पनि त्यसको कार्यान्वयन आगामी कार्यकालदेखि मात्रै हुने उनले बताए।
उनले निर्वाचन, विधान संशोधन र संस्थागत नवीकरण तीनवटै प्रक्रिया समानान्तर रूपमा अगाडि बढ्ने र वर्तमान निर्वाचन भने हाल कायम रहेको विधानअनुसार नै सम्पन्न हुने स्पष्ट पारे।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया