NIMB Header 2
Nepal Life

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 25 22:39
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह
United Ajod

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका युवा उद्यमीलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन आग्रह गरेका छन्। उनले सूचना प्रविधि क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको भन्दै उद्यमीलाई विस्तार र लगानीका लागि सरकारको साथ रहने बताए।

Nepal Life
NIMB

मंगलबार अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रमा कार्यरत युवा उद्यमीसँगको छलफलमा अर्थमन्त्री वाग्लेले सूचना प्रविधि छोटो समयमै ठूलो फड्को मार्न सक्ने क्षेत्र भएको बताए। उनले युवा उद्यमीलाई लगानी बढाउँदै व्यवसाय विस्तार गर्न आग्रह गरे।

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो। तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्। सरकार तपाईंको साथमा छ,” उनले भने, “के–के गर्नुपर्ने हो भन्नुहोस्।”

विगतमा कृषिजन्य वस्तुको उत्पादन तथा निर्यातमा नेपालले लामो समय र ठूलो लगानी गर्नुपरेको स्मरण गर्दै उनले सूचना प्रविधिमा लगानी गर्दा तुलनात्मक रूपमा कम समयमा प्रतिफल प्राप्त गर्न सकिने बताए।

सरकारले चालु आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको उनले जानकारी दिए। कृत्रिम बौद्धिकता (एआई) को विकासका लागि बजेट विनियोजन गर्नुका साथै सूचना प्रविधि क्षेत्रमा कार्यरत युवा उद्यमीलाई प्रोत्साहन गर्ने नीति सरकारले अघि सारेको उनको भनाइ छ।

अर्थमन्त्री वाग्लेले सूचना प्रविधि क्षेत्रका समस्या र आवश्यकताबारे सरकारलाई जानकारी गराउन उद्यमीलाई आग्रह गरे। उनले युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने र विदेश पलायन रोक्ने वातावरण निर्माणमा सूचना प्रविधि क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए।

“तपाईंहरूको कुरा भन्नुहोस्। तपाईंहरूको क्षेत्र फलोस्–फुलोस्। युवाहरू विदेशिन नपरोस्। अहिले अवस्था कस्तो छ? सरकारले के गरिदिनुपर्‍यो भन्नुहोस्,” उनले भने।

विश्वस्तरीय सूचना प्रविधि कम्पनीलाई नेपाल भित्र्याउन सरकारले पहल गरिरहेको पनि वाग्लेले बताए। नेपाललाई सूचना प्रविधिको मूल्य शृंखला (भ्यालु चेन) विकास हुने हबका रूपमा अघि बढाउने रणनीतिमा सरकार रहेको उनले जानकारी दिए।

काम गर्दै जाँदा देखिने कमीकमजोरी र अवरोधलाई क्रमशः समाधान गर्दै सूचना प्रविधि क्षेत्रको विकासमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले उद्यमीलाई आफ्ना समस्या खुलस्त रूपमा राख्न आग्रह गरे। सरकार र निजी क्षेत्रबीच सहकार्यबाट सूचना प्रविधि क्षेत्रको विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

छलफलमा दुई दर्जनभन्दा बढी सूचना प्रविधि क्षेत्रका युवा उद्यमी सहभागी थिए। उनीहरूले सरकारले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै क्षेत्रको विकासका लागि नीतिगत तथा प्रशासनिक सुधार आवश्यक रहेको बताए।

उद्यमीहरूले सूचना प्रविधि क्षेत्रका लागि सेवा प्रवाहलाई प्रभावकारी बनाउन एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्नुपर्ने, विदेशी मुद्रा सटही सुविधा सहज बनाउनुपर्ने तथा विद्यमान कानुनी जटिलता समाधान गर्नुपर्ने माग राखे। साथै, सूचना प्रविधि व्यवसायको विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार र निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा उनीहरूले जोड दिए।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया