NIMB Header 2
Nepal Life

नेपाल लाइफको सीईओमा प्रविन रमण पराजुली पुनः नियुक्त, कार्यकाल सकिनुअघि नै थप चार वर्षको जिम्मेवारी

IME LIFE
  • BFIS News
  • 2026 Jun 15 11:45
नेपाल लाइफको सीईओमा प्रविन रमण पराजुली पुनः नियुक्त, कार्यकाल सकिनुअघि नै थप चार वर्षको जिम्मेवारी
United Ajod

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन रमण पराजुलीलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको छ। कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले उनको कार्यकाल सकिन एक महिना बाँकी रहँदै आगामी चार वर्षका लागि पुनः जिम्मेवारी दिने निर्णय गरेको हो।

Nepal Life
NIMB

२०७८ पुसमा नेपाल लाइफमा सिनियर डेपुटी चिफ एक्जिक्युटिभ अफिसर (डीसीओ) का रूपमा प्रवेश गरेका पराजुलीले केही समय उक्त जिम्मेवारी सम्हालेपछि २०७९ साउनमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए। पहिलो कार्यकाल सफलतापूर्वक पूरा गरेपछि कम्पनीले उनको नेतृत्वमाथि पुनः विश्वास व्यक्त गर्दै दोस्रो कार्यकालको जिम्मेवारी सुम्पिएको हो।

नेपाल लाइफमा जिम्मेवारी ग्रहण गर्ने क्रममा पराजुलीले आफ्ना विगतका अनुभवलाई थप कार्यक्षमता प्रदर्शन गर्ने अवसरका रूपमा लिएको बताएका थिए। जिम्मेवारीलाई अवसरका रूपमा मात्र नभई चुनौतीका रूपमा समेत स्वीकार गर्दै उनले कम्पनीको नेतृत्व गरेका थिए। परिणामस्वरूप, कम्पनीले उनको कार्यसम्पादनको मूल्यांकन गर्दै निरन्तरताको निर्णय गरेको जनाएको छ।

संस्थागत सुशासनलाई प्राथमिकतामा राख्ने, सेवाको गुणस्तरलाई अझ सुदृढ बनाउने र कम्पनीलाई हरेक क्षेत्रमा अग्रणी बनाउने प्रतिबद्धता उनले दोहोर्‍याएका छन्। नेतृत्वमा पारदर्शिता, व्यवस्थापनमा जवाफदेहिता र सञ्चालनमा व्यावसायिकता कायम राख्दै कम्पनीलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित उनले दोस्रो कार्यकाल सुरु गर्ने उल्लेख गरेका छन्। 

पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा चार वर्ष पुरा गरेका थिए। उनले सन् २०१७ डिसेम्बरदेखि २०२१ डिसेम्बरसम्म रिलायन्स लाइफको नेतृत्व गरेका थिए। त्यसअघि बैंकिङ तथा लगानी बैंकिङ क्षेत्रमा समेत उनले लामो अनुभव हासिल गरेका छन्।

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबाट वित्त व्यवस्थापनमा एमबीए गरेका पराजुलीले भारतको मङ्गलोर विश्वविद्यालयबाट ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट अध्ययन गरेका छन्। उनले सन् २००२ मा डाबर नेपालबाट व्यावसायिक यात्रा सुरु गरेका थिए। त्यसपछि एनएमबी बैंक, नबिल बैंक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङमा विभिन्न नेतृत्वदायी भूमिकामा कार्य गर्दै वित्तीय क्षेत्रको अनुभव विस्तार गरेका थिए।

बीमा तथा वित्तीय क्षेत्रमा करिब दुई दशकको अनुभव बोकेका पराजुली नेपाल जीवन बीमक संघका अध्यक्षसमेत हुन्। उनी सन् २०१५ देखि २०१७ सम्म मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपालको अध्यक्ष पनि रहेका थिए।

पराजुलीले संगठनको लक्ष्य प्राप्तिका लागि समुहगत कार्यशैली, खुला सञ्चार र सकारात्मक सोचलाई प्रमुख आधार मान्दै आएका छन्। नेतृत्वमा सहकार्य, निर्णयमा स्पष्टता र कार्यसम्पादनमा नतिजामुखी दृष्टिकोण अपनाउँदै आएका उनको दोस्रो कार्यकालले नेपाल लाइफको भावी रणनीति र व्यवसाय विस्तारमा थप निरन्तरता दिने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया