NIMB Header 2
Nepal Life

राष्ट्रियस्तरका विकास बैंकको नाफा ४२.५ प्रतिशतले बढ्यो, लुम्बिनीको वृद्धि सबैभन्दा उच्च

IME LIFE
  • BFIS News
  • 2026 Jun 16 14:41
राष्ट्रियस्तरका विकास बैंकको नाफा ४२.५ प्रतिशतले बढ्यो, लुम्बिनीको वृद्धि सबैभन्दा उच्च
United Ajod

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ।

Nepal Life
NIMB

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सञ्चालनमा रहेका आठ राष्ट्रियस्तरका विकास बैंकहरूले संयुक्त रूपमा ६ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.५० प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको पहिलो १० महिनामा यी विकास बैंकहरूको कुल खुद नाफा ४ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो। बैंकहरूको अधिकांश वित्तीय सूचकमा सुधार देखिँदा नाफा पनि बढेको राष्ट्र बैंकको विवरणले देखाएको छ।

नाफा वृद्धिदरका आधारमा लुम्बिनी विकास बैंक सबैभन्दा अगाडि रहेको छ। बैंकले समीक्षा अवधिमा ६३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको बैंकको नाफा यस वर्ष ४२८.७० प्रतिशतले बढेको हो।

ज्योति विकास बैंकको नाफा पनि दोब्बरभन्दा बढी वृद्धि भएको छ। बैंकले ७२ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ३६ करोड १४ लाख रुपैयाँको तुलनामा १००.५८ प्रतिशत बढी हो।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ८९ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको ६१ करोड ५४ लाख रुपैयाँको तुलनामा यसको नाफा ४५.२५ प्रतिशतले बढेको छ।

त्यसैगरी, गरिमा विकास बैंकको नाफा ३९.९५ प्रतिशत, मुक्तिनाथ विकास बैंकको २६.१८ प्रतिशत, कामना सेवा विकास बैंकको १६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ९.४७ प्रतिशत तथा महालक्ष्मी विकास बैंकको ०.१३ प्रतिशतले वृद्धि भएको छ।

कुल नाफाका आधारमा भने गरिमा विकास बैंक अग्रस्थानमा पुगेको छ। बैंकले समीक्षा अवधिमा १ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सबैभन्दा बढी नाफा कमाएको मुक्तिनाथ विकास बैंक यस वर्ष दोस्रो स्थानमा झरेको छ। मुक्तिनाथले १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको छ।

त्यसपछि धेरै नाफा कमाउने विकास बैंकहरूको सूचीमा क्रमशः साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंक रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया