भारत निर्यात अवरोधपछि इलाम र झापाका चिया उद्योग बन्द, दैनिक ५ करोड ५० लाखको हरियो पत्ती नष्ट हुँदै
- BFIS News
- 2026 Jun 18 13:36
काठमाडौँ । भारतमा चिया निर्यातमा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको छ। भारतले चिया आयातमा कडाइ गरेपछि इलाम र झापाका चिया उद्योग बन्द भएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनुभएको हो।
विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौरीकुमारीले चिया तथा अलैँची लगायतका कृषि उपजको भण्डारण र बजारीकरणका लागि विशेष योजना बनाइएको जानकारी दिनुभयो।
गत मे १ देखि भारतीय टी बोर्डले भारत आयात हुने चियामा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युअर (एसओपी) लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या देखिएको हो। प्रयोगशाला परीक्षण तथा प्रमाणीकरणको विषयमा अवरोध भएपछि इलाम र झापाका उद्योगी तथा किसान प्रभावित भएका छन्।
इलाममा असार १ गतेदेखि ५३ वटा चिया उद्योग बन्द भएपछि चिया टिपाइको मुख्य सिजनमै दैनिक करिब ११ लाख किलो हरियो पत्ती नष्ट हुन थालेको छ। प्रतिकिलो औसत ५० रुपैयाँ मूल्य मान्दा दैनिक करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको हरियो चिया नोक्सान भइरहेको छ।
चिया टिप्न नपाउँदा किसान र दैनिक ज्यालामा काम गर्ने श्रमिकको रोजीरोटी प्रभावित भएको छ। किसानहरूले चिया बिक्रीबाटै घरखर्च, शिक्षा र दैनिक आवश्यकता पूरा गर्दै आएको बताएका छन्।
सूर्योदय नगरपालिका क्षेत्रका किसानले सरकारले तत्काल समस्या समाधान गर्नुपर्ने माग गरेका छन्। चिया उद्योगीहरूले भारतसँग कूटनीतिक पहल गरी निर्यात सहज बनाउन सरकारसँग आग्रह गर्दै आएका छन्।
यता, टी एलाइन्स अफ नेपालले समेत चिया निर्यात ठप्प हुँदा किसानलाई भुक्तानी दिन समस्या भएको भन्दै बिहीबारदेखि आबद्ध सबै उद्योग बन्द गर्ने जनाएको छ।
इलामपछि झापाका चिया उद्योगीहरूले पनि बिहीबारदेखि उद्योग र बगान बन्द गर्ने घोषणा गरेका छन्। नेपाल चिया उत्पादक संघका अनुसार झापाका करिब ३० वटा उद्योग र दुई दर्जन चिया बगान बन्द हुँदा करिब ६० हजार श्रमिक प्रभावित हुनेछन्।
व्यवसायीका अनुसार भारतले नेपाली चियामा अवरोध गरेपछि तेस्रो मुलुकको बजार खोज्नुपर्ने आवश्यकता देखिएको छ। बंगलादेशमा समेत माग भए पनि उच्च भन्सार शुल्कका कारण सहज निर्यात हुन नसकेको उनीहरूको भनाइ छ।
नेपाल चिया उत्पादक संघले समस्या समाधानका लागि झापाका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया