Nepal Life

दशैमा नयाँ नोट नै किन, के दशैंमा मात्र छापिने हो नयाँ नोट ?

National Life
  • BFIS News
  • 2023 Oct Thu 14:28
दशैमा नयाँ नोट नै किन, के दशैंमा मात्र छापिने हो नयाँ नोट ?
RBB

काठमाडौं । दशैंकमा नयाँ नोटको जोहो गर्न सबै जना आतुर हुन्छन् । पहुँच हुनेले आफ्नो पहुँचबाट र नहुनेले नेपाल राष्ट्र बैंकले वितरण गरिरहेको स्थानमा लाइन बसेरै लिइरहेका हुन्छन् । खासमा नयाँ नोटको वितरण गर्ने काम नेपाल राष्ट्र बैंकको होइन तर पनि राष्ट्र बैंकले दशैको हर्सोल्लासमा आम सर्वसाधारणलाई नयाँ नोटको प्रवन्ध मिलाएर सहजिकरण गरिरहेको हुन्छ ।

NIMB

नेपाल राष्ट्र बैंकले अन्य बैंक वित्तीय संस्थाहरुलाई पनि नयाँ नोट उपलब्ध गराएर वितरणका लागि व्यवस्था मिलाएको छ । तर यस वर्ष बजारमा प्रयाप्त नयाँ नोट छैन । बजारमा प्रयाप्त नोट नहुँदा सबैभन्दा धेरै टाउको दुखाई बैंक वित्तीय संस्थामा काम गर्ने कर्मचारीको हुने गर्छ ।

बैंकमा काम गर्ने भन्ने वित्तीकै चिनेजानेका साथिभाइ, आफन्त, नजिकका व्यक्तिहरुले ठुलो आशा गरेका हुन्छन् । बैंकमा काम गरेर पनि यति पैसा साट्न सक्दैनस भन्ने जवाफ आइहाल्छ अनि त जोहो गर्नै पर्यो । नेपाल राष्ट्र बैंकले पनि दशैको छेको पारेर बजारमा वर्षनी नयाँ नोट पठाउने गर्छ । यस वर्ष पनि राष्ट्र बैंक सँग प्रयाप्त नोट मौज्दात छ । तर बैंकहरुलाई जति पनि वितरण गर्दा थन्किएर बस्ने भन्दै राष्ट्र बैंकले खटाइ खटाइ पैसा वितरण गरिरहेको छ ।

राष्ट्र बैंकले असोज २९ गतेदेखि नै नयाँ नोट वितरणको काम सुरु गरेको थियो । बैंकहरु भोलि शुक्रवासम्म मात्रै खुला हुनेछन् । यसले गर्दा अहिले सबैको हतारो खुद्रा नयाँ नोटको जोहो गर्नैमा केन्द्रित छ ।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार, उपत्यकाभित्र विभिन्न बैंकसँग मिलेर ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । उपत्यका बाहिर भने आफ्ना कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराएको छ । राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई सुकिला नोट सर्किङ गरेर वितरण गर्न समेत निर्देशन दिएको छ । तर पछिल्ला केही वर्षदेखि दशैंमा नयाँ नोट नै चाहिन्छ भन्ने ‘लहड’ बढेको छ ।

दशैंमा किन निकाल्छ नयाँ नोट ? के दशैं र नयाँ नोटको कुनै सम्बन्ध छ ?

यसको सोझो उत्तर हो– छैन । तर, अहिले मनोविज्ञान कस्तो भइसकेको छ भने मानिसहरु दशैं आए पछि नयाँ नोटको व्यवस्थापन गर्न लाग्छन् । ‘दशैं र नयाँ नोटको सम्बन्ध भनेको नयाँ कपडा र दशैंको जस्तो मात्र हो, ’ नेपाल राष्ट्र बैंकका एक उच्च तहका अधिकारीले भने ‘इस्टमित्र र बालबालिकालाई दक्षिणा दिँदा नयाँ नोट दिने प्रचलन बढेको हो, दशैं र नयाँ नोट वा राष्ट्र बैंकको त्यस्तो ठूलो सम्बन्ध छैन ।’

के दशैंमा मात्र छापिने हो नयाँ नोट ?

नेपाल राष्ट्र बैंकले दशैंमा जति नयाँ नोट बजारमा पठाउँछ, त्यति धेरै नयाँ नोट वर्षको अरु कुनै समयमा पठाउँदैन । यस्तो किन भने नेपाली बजार दशैंमा चलायामान हुन्छ ।  दशैं आउनै लाग्दा बैंकहरुमा निक्षेप निकै धेरै बढ्छ । सँगसँगै घरेलु किनमेलका लागि पैसा धेरै बजारमा पनि जान्छ । यही मौका छोपेर नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा धेरै पठाउँछ । 

यसको अर्थ के हो भने नेपाल राष्ट्र बैंकले अरु समयमा पनि नयाँ नोट बैंकहरुमा ‘सर्कुलेट’ त गरिरहेको हुन्छ, तर दशैंमा चाहिँ उसले निकै धेरै नयाँ नोटहरु निस्कासन गर्छ । यही समयमा नयाँ नोटको माग बढी हुने भएकाले पनि राष्ट्र बैंकले यो समयमा धेरै नयाँ नोट बजारमा पठाउने हो । त्यसरी पठाउने नयाँ नोट अहिले नै छापिएको भन्ने चाहिँ हुँदैन । ती नयाँ नोट निकै पहिले छापिएका पनि हुनसक्छन् जुन राष्ट्र बैंकको स्टकमा राखिएको हुन्छ ।

नेपाली नयाँ नोटको आयु कति हो ?

नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्दा तीन वर्ष तीन महिनाको मागको प्रक्षेपण गर्छ । र, त्यो प्रक्षेपणअनुसार नयाँ नोट छाप्न ग्लोबल टेन्डर आह्वान गरेर विदेशी छापाखानामा पठाउँछ । नेपालका सबै नोट एउटै कम्पनीबाट नै छापिएका हुन्छन् भन्ने चाहिँ छैन । विभिन्न मुद्रा विभिन्न कम्पनीबाट छापिएका पनि हुन सक्छन् । 

यो वर्ष राष्ट्र बैंकले निस्कासन गर्ने नयाँ नोटमध्ये ५, १०, २०, ५० र १०० का नोटको आयु दुई वर्ष हुने अनुमान गरेको छ । पाँच सय र हजारका नोटको आयु साढे तीन वर्ष हुने अनुमान राष्ट्र बैंकको छ ।

डिजिटल मनिको प्रचलनले नोटको प्रचलन घट्दो

नेपाल राष्ट्र बैंकले केहि वर्षदेखि डिजिटल भुक्तानीका लागि प्रवर्द्धन गर्दै आइरहेको छ । नोट छपाइदेखि लिएर विभिन्न कारणले गर्दा डिजिडल भुक्तानी सहज र कम खर्चिलो मानिन्छ । यसले गर्दा बैंकहरुले मोबाइल बैंकिङ, इन्टरनेट बैंक, क्युआर कोड लगायतका प्रणालीमा ध्यान दिदै आएका छन् । अहिले सानो तीनो रकमका लागि बैंकमा लाइन बस्ने प्रचलन नै घटिसकेको छ । यसले गर्दा बजारमा नोटको प्रयोग विस्तारै कम हुँदै गइरहेको छ । यदि बजारमा उपलब्ध निक्षेपका आधारमा नोट छाप्ने हो भने धेरै खर्चिलो र गाह्रो पर्न जान्छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया