NIMB Header 2
Nepal Life

धादिङका तीन कृषि उद्यमी नगद पुरस्कारसहित सम्मानित

IME LIFE
  • BFIS News
  • 2026 Jun 18 14:20
धादिङका तीन कृषि उद्यमी नगद पुरस्कारसहित सम्मानित
United Ajod

धादिङबेसी, असार ४ गते । धादिङका तीन जना उत्कृष्ट कृषि उद्यमी नगद पुरस्कारसहित सम्मानित भएका छन् । कृषि क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन गर्दै कृषकलाई आत्मनिर्भर र व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको कृषि उद्यम द्रुतिकरण कार्यक्रमअन्तर्गत उनीहरूलाई सम्मान गरिएको हो ।

 

Nepal Life
NIMB

सम्मानित हुनेमा नीलकण्ठ नगरपालिका–१० का बुद्धिप्रसाद बुर्लाकोटी, सिद्धलेक गाउँपालिका–२ की रोशिका गुरुङ र सिद्धलेक गाउँपालिका–६ का रामकुमार श्रेष्ठ रहेका छन् ।

सम्मानित तीनै जना कृषि उद्यमीलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको कार्यक्रमका व्यवसाय विकास अधिकृत सुशील खनालले जानकारी दिनुभयो । त्यस्तै नीलकण्ठ नगरपालिका–८ की विमला कोइरालालाई १० हजार रुपैयाँसहित सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

तरकारी मूल्य शृङ्खलामा नवीनता परियोजनाअन्तर्गत विगत दुई वर्षदेखि नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाका एक हजार ५०९ घरधुरीका कृषकलाई ६० वटा समूह बनाएर तालिम प्रदान गरिएको थियो ।

उक्त समूहबाट प्राप्त ६६ आवेदनमध्ये उत्कृष्ट २५ जना कृषक छनोट गरी व्यवसाय विकाससम्बन्धी विशेष तालिम दिइएको आयोजकले जनाएको छ । तालिमपछि सहभागी कृषकहरूले कृषि व्यवसाय विस्तारका लागि कार्ययोजना तयार गरी कार्यान्वयन गरेका थिए ।

कार्ययोजनाको कार्यसम्पादन, स्थलगत अनुगमन तथा मूल्याङ्कनका आधारमा उत्कृष्ट १० कृषि उद्यमी छनोट गरी यसअघि जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । सोही १० जनामध्ये व्यवसायको दीर्घकालीन सोच, नवीनता, प्रभावकारिता र प्रस्तुत योजनाको मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन जना छनोट गरिएको व्यवसाय विकास अधिकृत खनालले बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाको समन्वयमा हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा एक्सन नेपाल धादिङको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो ।

सम्मानित कृषक रोशिका गुरुङले पुरस्कारले आफूलाई थप आत्मविश्वास र हौसला मिलेको बताउनुभयो । उहाँले प्राप्त पुरस्कार रकमसमेत कृषि व्यवसायमै लगानी गर्दै विषादीरहित कृषि उत्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले कृषकलाई अर्गानिक खेतीतर्फ आकर्षित हुन आग्रह गर्नुभयो । उहाँले कृषि क्षेत्रमा आवश्यक ऋण तथा वित्तीय पहुँच विस्तारका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

नगर प्रमुख ढुङ्गानाका अनुसार नगरपालिकाले ‘मेयर उद्यमशीलता कार्यक्रम’ मार्फत तालिम लिएर व्यवसाय सुरु गर्ने उद्यमीलाई दुई लाखदेखि १५ लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया