NIMB Header 2
Nepal Life

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय सार्वजनिक, धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

IME LIFE
  • BFIS News
  • 2026 Jun 19 18:07
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय सार्वजनिक, धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त
United Ajod

काठमाडौं, असार ५ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले कानुन संशोधन, सहकारी क्षेत्रको सुधार तथा नियामकीय संरचना सुदृढीकरणसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

Nepal Life
NIMB

सरकारका अनुसार असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था पुनः लागू गर्ने सम्बन्धी विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। त्यस्तै, राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक पनि संसद्मा प्रस्तुत गर्न अनुमति प्रदान गरिएको छ।

बैठकले सहकारी क्षेत्रको कानुनी तथा नियामकीय संरचना सुधारका लागि दुई महत्वपूर्ण निर्णय गरेको छ। सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यले नयाँ विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ। साथै, बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरीवेक्षणसम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न विधेयक तर्जुमाको प्रक्रियासमेत अघि बढाइएको छ।

यसैबीच, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा कैलालीका डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरिएको छ। लामो समयदेखि रिक्त रहेको सेबोन नेतृत्वमा नयाँ नियुक्तिसँगै पूँजी बजार नियमन तथा व्यवस्थापनमा थप सक्रियता आउने अपेक्षा गरिएको छ।

मन्त्रिपरिषद्ले संघीय संसद्मा पेस गर्नका लागि विभिन्न प्रतिस्थापन विधेयकहरूलाई पनि स्वीकृति दिएको छ। स्वीकृत विधेयकमध्ये सहकारी ऐन, २०७४ संशोधन विधेयक, सार्वजनिक खरिद ऐन, २०६३ संशोधन विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ संशोधन विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक रहेका छन्।

सरकारका यी निर्णयहरू सहकारी क्षेत्रको पुनर्संरचना, सार्वजनिक खरिद प्रणालीको सुधार, वित्तीय अपराध नियन्त्रण तथा स्वास्थ्य क्षेत्रसम्बन्धी कानुनी व्यवस्थालाई अद्यावधिक गर्ने दिशामा केन्द्रित रहेको बताइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया