NIMB Header 2
Nepal Life

सेबोन अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त, पुँजी बजार सुधारको चुनौतीपूर्ण जिम्मेवारी

IME LIFE
  • BFIS News
  • 2026 Jun 19 18:22
सेबोन अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त, पुँजी बजार सुधारको चुनौतीपूर्ण जिम्मेवारी
United Ajod

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित सिफारिस समितिले गरेको सिफारिसका आधारमा भट्टलाई बोर्डको नेतृत्व सुम्पिएको हो।

Nepal Life
NIMB

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले समितिको सिफारिसअनुसार भट्टलाई सेबोन अध्यक्ष नियुक्त गर्ने निर्णय भएको जानकारी दिए। अध्यक्ष छनोटका लागि गठित समितिले नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक मुकुन्दकुमार क्षत्री, सेबोनका कार्यकारी निर्देशक विनयदेव आचार्य र डा. गोपाल भट्टको नाम सिफारिस गरेको थियो।

समितिले प्राप्त ४७ वटा आवेदनमध्ये चार जनालाई अन्तिम सूचीमा राखी अन्तर्वार्ता लिएपछि तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। समितिमा पूर्वबैंकर भुवन दाहाल र अर्थसचिव डा. घनश्याम उपाध्याय सदस्य रहेका थिए।

नवनियुक्त अध्यक्ष भट्टले नेपाल राष्ट्र बैंकमा करिब ३० वर्ष सेवा गरी कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गरेका हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन्। ‘स्टक मार्केट इफिसेन्सी इन नेपाल’ विषयमा अनुसन्धान गरी पीएचडी गरेका भट्टसँग अनुसन्धान, बैंक सुपरिवेक्षण तथा वित्तीय क्षेत्रका विभिन्न विभागमा काम गरेको लामो अनुभव छ।

शैक्षिक क्षेत्रमा पनि सक्रिय रहेका भट्टले शंकरदेव क्याम्पस, नेपाल कमर्स क्याम्पसलगायत विभिन्न उच्च शिक्षण संस्थामा दुई दशकभन्दा बढी समय अध्यापन गरेका थिए। उनी केही समयअघि नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकका रूपमा समेत कार्यरत थिए।

धितोपत्र सम्बन्धी कानुनी व्यवस्थाअनुसार अध्यक्ष पद रिक्त भएमा बाँकी कार्यकालका लागि सरकारले नयाँ नियुक्ति गर्न सक्ने प्रावधान छ। सोही व्यवस्थाअनुसार वैशाखको पहिलो साता अध्यक्ष पदबाट राजीनामा दिएका सन्तोषनारायण श्रेष्ठको बाँकी कार्यकाल पूरा गर्न भट्ट नियुक्त भएका हुन्। अब उनले करिब साढे दुई वर्ष सेबोनको नेतृत्व गर्नेछन्।

पछिल्ला वर्षहरूमा सेबोन नेतृत्व पटक–पटक विवादमा तानिएको थियो। पूर्वअध्यक्ष भीष्मराज ढुंगाना विवादका कारण पदबाट हटाइएपछि रमेश हमाल नियुक्त भएका थिए। त्यसपछि सन्तोषनारायण श्रेष्ठ अध्यक्ष बने पनि उनले कार्यकाल पूरा नगरी पदबाट राजीनामा दिएका थिए। यस पृष्ठभूमिमा नयाँ नेतृत्वमाथि संस्थागत विश्वास पुनःस्थापित गर्ने अपेक्षा गरिएको छ।

नेपालको पुँजी बजारको नियामक निकायका रूपमा रहेको सेबोनले धितोपत्र तथा वस्तु विनिमय बजारको नियमन र विकासको जिम्मेवारी वहन गर्दै आएको छ। पछिल्ला वर्षहरूमा लगानीकर्ताको संख्या उल्लेख्य रूपमा बढे पनि बजारको आकार र आवश्यकताअनुसार नयाँ वित्तीय उपकरण तथा लगानीका अवसर विस्तार गर्न नसकेको आलोचना हुँदै आएको छ।

करिब ५० खर्ब रुपैयाँ बराबरको बजार पुँजीकरण रहेको नेपाली पुँजी बजारमा नियामकीय क्षमता सुदृढीकरण, लगानीकर्ता संरक्षण, प्राथमिक तथा दोस्रो बजारको पारदर्शिता वृद्धि, सार्वजनिक निष्कासन प्रक्रियाको गुणस्तर सुधार तथा बजारमा सुशासन कायम गर्ने विषय नयाँ अध्यक्षका प्रमुख चुनौतीका रूपमा रहेका छन्।

हाल सेयर बजार अपेक्षाकृत सुस्त अवस्थामा रहेको बेला भट्टको नियुक्तिलाई पुँजी बजार सुधारको अवसरका रूपमा हेरिएको छ। बजार विकास, नियामकीय क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय अभ्यासअनुरूप प्रतिस्पर्धी पुँजी बजार निर्माणतर्फ प्रभावकारी कदम चाल्ने अपेक्षा लगानीकर्ता तथा सरोकारवालाहरूले गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया