Nepal Life

सुदूरपश्चिम बजेटमा सत्ता गठबन्धनभित्रै विवाद, एमालेले संशोधन प्रस्ताव ल्याउने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 20 12:53
सुदूरपश्चिम बजेटमा सत्ता गठबन्धनभित्रै विवाद, एमालेले संशोधन प्रस्ताव ल्याउने

धनगढी, असार ६ – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति सत्ता गठबन्धनभित्रै असन्तुष्टि देखिएको छ। सरकारमा सहभागी प्रमुख दल नेकपा (एमाले) ले बजेट संशोधनको औपचारिक तयारी थालेपछि बजेटलाई लिएर सत्ता पक्षमै मतभेद सतहमा आएको हो।

 

Nepal Life
NIMB

तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी एमालेले शुक्रबार संसदीय दलको कार्यालयमा बैठक गरी बजेटका विभिन्न पक्षबारे समीक्षा गरेको छ। बैठकले प्रदेश सभामा बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गर्नुका साथै प्रमुख सचेतक चक्र मल्लको संयोजकत्वमा कार्यदल गठन गरेको प्रदेशसभा सदस्य धर्मराज पाठकले जानकारी दिनुभयो।

कार्यदलले बजेटका विवादित विषय, योजना छनोट तथा स्रोत विनियोजनको अध्ययन गरी संशोधन प्रस्तावलाई अन्तिम रूप दिने बताइएको छ।

बैठकमा एमाले सांसदहरूले बजेट निर्माण प्रक्रियामा पर्याप्त परामर्श र समन्वय नगरिएको गुनासो गरेका छन्। केही जिल्लालाई प्राथमिकतामा राखिएको, एमालेका प्रदेशसभा सदस्य तथा मन्त्रीहरूले सिफारिस गरेका योजना समावेश नगरिएको र स्रोत बाँडफाँट सन्तुलित नभएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्।

गठबन्धन सरकारभित्र देखिएको असन्तुष्टिले आगामी प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल थप पेचिलो बन्ने संकेत गरेको छ। बजेट वितरणकै विषयमा विवाद हुँदा एमालेका मन्त्रीहरू असार १ गते बजेट प्रस्तुत हुनुअघि बसेको मन्त्रिपरिषद् बैठकमा समयमै सहभागी नभएको बताइएको छ। सोही कारण बजेट राति करिब १२:४५ बजे मात्र प्रदेश सभामा प्रस्तुत गरिएको थियो।

आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले ३७ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो।

यसैबीच, मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको नेपाली कांग्रेसका प्रदेशसभा सदस्य तथा विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह विष्टले पनि बजेट नीति, विधि र प्रक्रियाविपरीत ढंगले ल्याइएको आरोप लगाउनुभएको छ।

उहाँले बजेट निर्माणमा समावेशिता र सन्तुलनको अभाव रहेको टिप्पणी गर्दै सरकार समानता र न्यायको सिद्धान्तअनुसार अघि बढ्न नसकेको बताउनुभयो। “सबै क्षेत्र र समुदायलाई सम्बोधन हुने गरी बजेट ल्याउनुपर्ने थियो, तर जहाँ मन्त्री छन् त्यहीँ बजेट केन्द्रित गरिएको छ,” उहाँले भन्नुभयो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया