Nepal Life

घोराहीमा लुम्बिनी प्रदेशस्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता सुरु

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 22 16:37
घोराहीमा लुम्बिनी प्रदेशस्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता सुरु

घोराही, असार ८ गते । दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता–२०८३ सुरु भएको छ ।

 

Nepal Life
NIMB

प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा घोराही उपमहानगरपालिका–१५ स्थित दरबार स्केट पार्कमा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले आइटीएफ तेक्वान्दो खेल शारीरिक तथा मानसिक स्वास्थ्य, आत्मरक्षा र व्यक्तित्व विकाससँग प्रत्यक्ष जोडिएको बताउनुभयो ।

उहाँले खेलाडीले आफ्नो क्षमता विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाउने लक्ष्य राखे पनि खेलकुद क्षेत्रमा पर्याप्त बजेट अभाव रहेको उल्लेख गर्नुभयो । प्रदेश सरकारले सीमित स्रोतका बाबजुद खेलकुद क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्दै आएको र त्यसबाट विभिन्न जिल्लामा खेल गतिविधि सञ्चालन भइरहेको उहाँको भनाइ थियो ।

मन्त्री न्यौपानेले आइटीएफ तेक्वान्दोसहित फुटबल, क्रिकेट, भलिबललगायत सबै खेलको विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव तिरणदाज गौतमले आइटीएफ तेक्वान्दो मार्सलआर्टको लोकप्रिय विधाका रूपमा विकास हुँदै गएको बताउँदै प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धि र राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

लुम्बिनी प्रदेश आइटीएफ तेक्वान्दो संघका अध्यक्ष रितमान कामुमगरले प्रतियोगिताले प्रदेशमा खेलको विकास, प्रतिभा पहिचान र खेल गतिविधि विस्तारमा योगदान पुर्‍याउने बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ विभिन्न तौल समूहमा स्पारिङ र प्याटर्न विधामा प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ ४०–४५, ४५–५०, ५०–५५, ५५–६० र ६० केजीमाथिका तौल समूह तथा पुरुषतर्फ ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ र ६५ केजीमाथिका तौल समूह निर्धारण गरिएको छ ।

प्रतियोगितामा रेड बेल्ट, ब्लु बेल्ट र ब्ल्याक बेल्ट प्रथम डानका खेलाडीबीच पनि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया