Nepal Life

नेपाल–स्पेन व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 23 13:54
नेपाल–स्पेन व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

काठमाडौं । स्पेनको राजधानी म्याड्रिडमा आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा दुई देशबीचको व्यापारिक तथा लगानी सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको छ।

Nepal Life
NIMB

कार्यक्रममा नेपाल र स्पेनका सरकारी अधिकारी, लगानीकर्ता तथा निजी क्षेत्रका प्रतिनिधिहरूले सम्भावित सहकार्यका क्षेत्रबारे विचार आदानप्रदान गरेका छन्।

म्याड्रिडस्थित नेपाली दूतावासको आयोजनामा सोमबार सम्पन्न फोरमको उद्देश्य स्पेनी लगानीकर्ता तथा व्यवसायीलाई नेपालसँग जोड्दै व्यापार र लगानीका अवसरबारे जानकारी गराउनु रहेको जनाइएको छ। कार्यक्रममा दुवै देशका सार्वजनिक तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।

उद्घाटन सत्रमा कार्यवाहक राजदूत पुरक अधिकारीले नेपाल–स्पेन आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा उच्च सम्भावना भएका क्षेत्रमा साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले नेपालका परम्परागत उद्योग, स्वदेशी प्रविधिमा आधारित उत्पादन तथा स्थानीय कच्चा पदार्थ प्रयोग गर्ने उद्यमबारे पनि जानकारी गराएका थिए।

नेपाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवीनराज शर्माले नेपाल र स्पेनबीचको वस्त्र व्यापारसम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै स्पेनी बजारमा नेपाली वस्त्रजन्य उत्पादनको सम्भावनाबारे चर्चा गरे। उनले नेपाली तयारी पोसाक तथा अन्य वस्त्र उत्पादनका अवसरबारे पनि जानकारी दिएका थिए।

नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष गोविन्द घिमिरे र उपाध्यक्ष देवनन्द सरावगीले दुई देशबीचको व्यापारिक सम्बन्धको अवस्था प्रस्तुत गर्दै च्याङ्ग्रा र हिमाली भेडाको ऊन, भाङ तथा सिस्नोजस्ता प्राकृतिक रेसाबाट निर्मित नेपाली उत्पादनका विशेषताबारे प्रकाश पारे। उनीहरूले हस्तनिर्मित चाँदीका गरगहना, जपमाला तथा परम्परागत आभूषणप्रति अन्तर्राष्ट्रिय बजारमा बढ्दो रुचि देखिएको उल्लेख गरे।

नेपाल गार्मेन्ट सङ्घका अध्यक्ष पशुपति देव पाण्डेले पछिल्ला वर्षमा भएका कानुनी तथा नीतिगत सुधारले नेपाली तयारी पोसाक उद्योगमा सकारात्मक प्रभाव परेको बताए। उनले नेपाल र स्पेनका व्यवसायीबीच निरन्तर सम्पर्क तथा सहकार्य आवश्यक रहेको धारणा राखे।

स्पेन उद्योग तथा वाणिज्य मण्डलका अन्तर्राष्ट्रिय सम्बन्ध उपनिर्देशक लुइस रोड्रिग्वेजले स्पेनको गहना तथा फेसन उद्योगबारे जानकारी दिँदै स्पेनी उपभोक्तामा अन्तर्राष्ट्रिय उत्पादनप्रतिको रुचि बढ्दै गएको बताए। उनले निजी क्षेत्रबीच प्रत्यक्ष साझेदारी विस्तार भएमा दुई देशबीचको व्यापारिक सम्बन्ध अझ मजबुत बन्न सक्ने उल्लेख गरे।

कार्यक्रममा प्रश्नोत्तर तथा नेटवर्किङ सत्रसमेत आयोजना गरिएको थियो। नेपाली दूतावासका अनुसार फोरममा स्पेनका वस्त्र तथा गहना उद्योगसँग सम्बन्धित व्यवसायी, लगानी प्रवर्द्धन निकायका प्रतिनिधि, सरकारी अधिकारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया