Nepal Life

चर्को आलोचना पछि अर्थमन्त्री वाग्लेले गरे धितोपत्र बोर्डको निरिक्षण, गुणस्तर बढाउँदै उच्च नैतिकतासहित काम गर्न निर्देशन

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 27 21:37
चर्को आलोचना पछि अर्थमन्त्री वाग्लेले गरे धितोपत्र बोर्डको निरिक्षण, गुणस्तर बढाउँदै उच्च नैतिकतासहित काम गर्न निर्देशन

काठमाडौं। शेयर बजारमा लगातार गिरावट पछि लगानीकर्ताको चर्को आलोना खेप्दै आएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लले नेपाल धितोपत्र बोर्डको निरिक्षण गरेका छन्। अर्थमन्त्री वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालय भ्रमण गर्दै नियामकीय गुणस्तर (Regulatory Quality) बढाउँदै उच्च नैतिकतासहित पूँजी बजार विकासको काम अघि बढाउन निर्देशन दिएका छन्।

Nepal Life
NIMB

बोर्डमा आयोजित कार्यक्रममा अर्थ सचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालयका उच्च पदाधिकारी, बोर्ड सञ्चालक समितिका सदस्य तथा बोर्डका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवातमा बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्टले अर्थमन्त्री तथा अन्य अतिथिहरूलाई स्वागत गरेका थिए।

स्वागत मन्तव्यका क्रममा अध्यक्ष भट्टले पूँजी बजारको विकास र विस्तारका लागि बोर्डले अघि बढाएका कामबारे जानकारी दिए। उनले पूँजी बजारको दीर्घकालीन विकासका लागि Capital Market Development Blueprint तयार गरी कार्यान्वयनमा ल्याइएको र आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा कार्ययोजना पनि लागू गर्न सुरु गरिएको बताए।

अध्यक्ष भट्टले साउन महिनाभित्र प्राथमिक तथा दोस्रो बजारसँग सम्बन्धित विभिन्न विषयमा परामर्शपत्र (Consultative Papers), नियम र निर्देशिका तयार गर्ने योजना रहेको जानकारी दिए। प्रारम्भिक सार्वजनिक निष्कासन (IPO), अन्तरदिवसीय कारोबार (Intraday Trading), मार्जिन लेन्डिङ (Margin Lending) र सर्ट सेलिङ (Short-Selling) लगायतका विषयमा सरोकारवालाको सुझाव संकलन गरी भदौ महिनादेखि आवश्यक परामर्श सुरु गरेर नीति, नियम र निर्देशिकामा आवश्यक परिमार्जन गरिने उनले बताए।

उनले पूँजी बजार विकासमा देखिएका चुनौती, नीति निर्माण तथा कर्मचारीको कार्य उत्प्रेरणा बढाउन मन्त्रालयबाट आवश्यक सहजीकरणको अपेक्षा पनि राखे।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले बोर्डले नियामकीय गुणस्तर बढाउँदै उच्च नैतिक मापदण्डका साथ पूँजी बजार विकासलाई अघि बढाउनुपर्ने बताए। उनले नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन रणनीति लिएर काम सुरु गरेको र बजार विकासको गति समात्ने प्रयासले लगानीकर्तामा सकारात्मक सन्देश पुगेको उल्लेख गरे।

उनले नेपाल धितोपत्र बोर्डले वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैंकसरह सशक्त नियामक संस्थाको भूमिका निर्वाह गर्ने गरी काम गर्नुपर्ने बताए। साथै, कुनै पनि विचलन बिना बोर्डलाई बलियो नियामक संस्थाका रूपमा विकास गर्न र बढ्दो डिम्याट खातासँगै लगानीकर्ताको अपेक्षाअनुसार संस्थागत क्षमता विस्तार गर्न निर्देशन दिए।

अर्थमन्त्री वाग्लेले नीति निर्माण गर्दा राजनीतिक–आर्थिक (Political Economy) पक्षलाई ध्यानमा राखी सम्बन्धित पक्षसँग पर्याप्त छलफल गरेर मात्र कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए। यसले पूँजी बजारको दिगो विकासमा सहयोग पुग्ने उनले बताए।

उनले नयाँ सरकार र नयाँ नेतृत्वसँगै नेपाल धितोपत्र बोर्डको कार्यशैलीमा सकारात्मक परिवर्तन आएको सन्देश लगानीकर्तामाझ पुगेको उल्लेख गर्दै नियामकीय तथा कानुनी सुधारका लागि नेपाल सरकारबाट आवश्यक सबै प्रकारको सहजीकरण उपलब्ध हुने बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया